कांग्रेस नेता कोइराला भन्छन्: भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सरकार पूर्णतः असफल

काठमाडौं— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ओली नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न पूर्णतः असफल भएको आरोप लगाएका छन् ।
प्रेस युनियन नवलपुरले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले कांग्रेसले बाध्यतामा एमालेसँग मिलेर सरकार गठन गरेको बताए ।

‘दुई ठुला दल कांग्रेस–एमालेको सरकार निर्माण हुँदा संविधान संशोधन, सुशासन, भ्रष्टाचारमुक्त लगायतका ७ बुँदे सहमति गरिएको थियो,’ उनले भने, ‘त्यसमा सरकार पूरै असफल भएको छ।’

गभर्नरको पदावधि सकिनुअघि नै नयाँ गभर्नर नियुक्ति गर्न सिफारिस भइसक्नुपर्ने तर अहिले गभर्नरको म्याद सकिएको दुई महिना भइसक्दा पनि नयाँ गभर्नर नियुक्ति नगरेर सरकारले संविधान मिच्ने काम गरेको उनको आरोप छ ।

उनले भने, ‘अघिल्लो गभर्नरको एक महिना पदावधि छँदै नयाँ गभर्नर नियुक्ति सिफारिस गरिसक्नुपर्छ। अहिलेसम्म अघिल्लो गभर्नरको एक महिना पदावधि छँदै अर्को एउटा गभर्नर समयमा दिन नसक्ने सरकारले अरू के कुराको सुशासन दिन सक्छ भनेर अपेक्षा गर्ने ?’

कांग्रेसको समर्थन र सहभागितामा अहिलेको सरकार भए पनि यसको मुख्य जिम्मेवारी एमालेकै हुने उनको भनाइ थियो। उनले भने, ‘एमाले अध्यक्ष (केपी शर्मा ओली) कै नेतृत्वमा सरकार भएकाले यसको मुख्य जिम्मेवारी पनि एमालेकै हुन्छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *