स्थानीय भेटघाटमा थापाले उठाए शिक्षा, स्वास्थ्य र रोजगारी विषयहरू

काठमाडौं । नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोजजंग थापाले राजनीति केवल भाषण र वाचामा सीमित नहुने बताउँदै, जनताको दैनिक जीवनमा देखिने परिवर्तन नै वास्तविक राजनीति भएको उल्लेख गरेका छन्।

कमलामाई नगरपालिकामा स्थानीय जनसमुदाय सँग प्रत्यक्ष भेटघाट र संवाद गर्दै थापाले सिन्धुली क्षेत्र नं २ को समावेशी विकास आफ्नो मुख्य एजेण्डा रहेको बताए । उनले ग्रामीण सडकको स्तरोन्नति, कृषिमा आधुनिकीकरण, बजार पहुँच विस्तार र युवालाई सीपमूलक तालिम मार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने योजनामा निरन्तर लाग्ने प्रतिबद्धता जनाए । ‘सिन्धुली विकासको सम्भावनाले भरिएको जिल्ला हो, आवश्यकता केवल योजनाबद्ध कार्यान्वयनको हो’, उनले भने।

भेटघाटका क्रममा स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी, रोजगारी र युवा पलायनजस्ता विषयमा ध्यानाकर्षण गराउनु भएको थियो। थापाले ती विषयलाई प्राथमिकतामा राखेर समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय बासिन्दाले लामो समयदेखि आधारभूत पूर्वाधारको अभाव, स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यता र कृषिमा उचित मूल्य नपाउनुजस्ता समस्याहरू उठाएका थिए। जवाफमा थापाले संघीय संसदमा पुग्ने बित्तिकै नीति निर्माण तहबाटै यी समस्याको समाधानका लागि पहल गर्ने बताए।

युवाहरूले रोजगारी र शिक्षा क्षेत्रमा स्पष्ट योजना माग्दा थापाले प्राविधिक शिक्षा, स्थानीय उद्योग प्रवर्द्धन र पर्यटन विकासमार्फत रोजगारी सिर्जना गर्न सकिने धारणा व्यक्त गरे। उनले स्थानीय तह, प्रदेश र संघीय सरकारबिच समन्वय गर्दै विकास परियोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। ‘युवाले आफ्नै गाउँमा भविष्य देख्न सक्ने वातावरण बनाउनु मेरो दायित्व हो’, उनले भने।

थापाले महिलाको आर्थिक सशक्तीकरण, सहकारीमार्फत उद्यमशीलता प्रवर्द्धन र स्वास्थ्य सेवामा पहुँच बढाउने विषयलाई पनि प्राथमिकतामा राख्ने बताए। ‘महिला सशक्तीकरण बिना समाजको समग्र विकास सम्भव छैन’, उनले जोड दिए।

स्थानीय ज्येष्ठ नागरिक र समाजसेवीहरूले थापाको सरल, पहुँचयोग्य र व्यवहारिक नेतृत्व शैलीको प्रशंसा गर्दै यसपटक परिवर्तनको पक्षमा मतदान गर्ने स्पष्ट जनाएका छन्। उनले आफूलाई मत मात्र होइन, सुझाव, आलोचना र मार्गदर्शन गर्न पनि आग्रह गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *