वर्ष बित्यो, रोशी–कोलाँती क्षेत्र अझै उजाड र खण्डहर

पनौती (काभ्रे) । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित रोशी–कोलाँती क्षेत्र, जहाँ कुनै समय कलकल बगिरहने खोला र हरियालीले रमाइलो बनाएको थियो । आज त्यो ठाउँ केवल चिहान जस्तै छ । सन्नाटा छाएको छ र स्थानीयबासी डरले कापिरहेका छन् ।

गत असोज १० देखि १३ गतेसम्मको त्यो कहाली लाग्दो ‘रेकर्ड ब्रेकिङ’ वर्षाले यहाँको जीवन, सपना र सम्भावनाहरूलाई बगाएर लगेको वर्ष दिन बितिसक्यो । खण्डहर बनेको बस्ती र भत्किएका घरहरुको अवस्था जस्ताकोतस्तै छ । समय बिते पनि घाउ निको भएन्, पीडालाई बिर्सन दिएन ।

राती पानी पर्याे कि घरभित्र सुतिरहेका आमाबुबा झसक्क उठ्छन् । बादल लाग्छ, बालबालिकाले आँसु मिसिएको अनुहार बनाउँछन् । यो एक वर्ष उनीहरूका लागि दिन केवल अस्ताउने घामजस्तै भयो, रात केवल डरले भरिएको ।

बाढीको उग्र भेलले बगाएको थियो रोशी किनारका बस्तीहरू । बालुवाको डंगुर थुपारिएको थियो, क्रसर उद्योगले थुपारिदिएको धुलो त्यसै लुटिएको थियो । र त्यसैबाट बनेको थियो बाढीको स्वरूप–कहर र क्रुद्धताको यस्तो यथार्थ, जुन कसैले सोचेको थिएन ।

बगायो बाढीले–नाबालकको भविष्यमात्र होइन, वृद्ध आमाको सपना पनि । घरहरू गएका थिए पानीसँगै । अनि तिनका भित्तामा टाँसिएका सपना, हाँसो, र सम्झनाहरू पनि गएका थिए बग्न । आज पनि त्यो ठाउँमा पुग्दा देखिन्छ–भत्किएको एउटा भान्साघर, जसमध्ये चुल्हो मात्रै बाँकी छ । तर त्यो चुल्हो अब आगो बल्ने छैन, त्यो अब केवल प्रतीक हो–उजाडको ।

खानेपानी आयोजनाको पाइपहरू भाँचिएर कताकता झुन्डिएको देखिन्छ । सडकहरू अब सडक होइनन्, पहिरोले लत्याएको मार्ग मात्रै छन् । पुलहरू जहाँ थिए, त्यहाँ अहिले खाली गहिरा खाडल छन् । मानौं, प्रकृतिले प्रश्न गरिरहेको होस् ‘फेरि निर्माण गर्न सक्ने हो?’

सरकारी कामकति सुस्त छ । स्थलगत पुगेर अवलोकन गर्दा सबै स्पष्ट देखिन्छ । अनि बासिन्दाहरूको आशा टुटिसकेको छ । पुनर्निर्माणको काम उस्तै ढिला, राहतका आश्वासनहरू केवल भाषणजस्तै भएका छन् । बाढीको पहिलो दिनदेखि आजसम्म, राहतभन्दा बढी त उनीहरूले अपेक्षा गुमाएका छन् ।

आज पनि रोशी–कोलाँतीका बासिन्दा त्यो घटनालाई सम्झिँदा आँखाभरि आँसु लिएर भन्छन्, ‘हामीलाई खोला होइन, क्रसरले डुबायो ।’ तर त्यो आवाज कसले सुन्छ? सडकमा उभिएका तिनीहरूको प्रतिवाद र विवशता, सबै लहरसँगै हराएका छन् ।

वर्ष दिन पछि पनि, जब एक थोपा पानी पर्छ, त्यहाँको माटो त केवल भिज्दैन, मानिसहरूको घाउ पुनःचिरिन्छ । त्यो भूगोलमात्र होइन्, त्यो भावनात्मक पीडाको थलो बनिसकेको छ ।

एक वर्ष भयो तर समयले घाउ भुलाउन सकेन । पनौती नगरपालिका–१२ स्थित रोशी–कोलाँती क्षेत्रका मानिसहरू अझै पनि राति पानी परेपछि निदाउन सक्दैनन्, झस्किन्छन्, तर्सन्छन् ।

२०८१ सालको असोज १० देखि १३ गतेसम्म लगातार परेको वर्षाले यो क्षेत्रलाई तहसनहस पार्यो। रोशीखोला आफ्नो सीमाभन्दा धेरै बाहिरिएर बग्यो—कुनै शक्तिशाली हातझैं, जसले गाउँको मुटु च्यातेझैं गर्यो । सडक, पुल, खानेपानी आयोजनामात्र होइन, मानिसका घर, सम्झना, सपना र शान्ति सबै बगायो ।

आज पनि रोशी किनारमा उभिँदा बगाइएका झुपडीहरूका अवशेष देखिन्छन् । कतै भत्किएको भान्सा, कतै आधा बाँकी कोठाको पर्खाल, कतै खोलामा झुन्डिएको जस्ता पाता ।

प्राकृतिक प्रकोप त थियो नै तर त्यसमाथि आगो झन स्थानीय खानी र क्रसर उद्योगहरूले हालिदिए । क्रसर उद्योगबाट निस्किएको धूलो र खानीको उत्खननले नदीलाई साँघुरो बनायो । बाढीको बेगलाई तीव्र बनायो । नदी किनारमा थुपारिएको ग्रावेल र ढुंगाभेलसँगै बग्दा पानीले अब जलमात्र थिएन, त्यो एक विनाशकारी तरल बम बनिसकेको थियो ।

स्थानीय बुद्धवीर तामाङ भन्छन्, ‘बाढीपहिरो जानुमा खानीहरूको प्रभाव त छ नै, हाम्रो पनि दोष छ । हामीले खोलाको पेटीमै घर बनायौं, अतिक्रमण गर्यौं तर त्यो सर्भाइवल थियो, नियति थियो । तर राज्यले के गर्यो ?’ उनी आक्रोश हुँदै भन्छन्, ‘बर्खा अगावै तटबन्ध बनाउन सकिन्थ्यो । तर सरकार बर्खा कुर्छ, अनि असार मसान्तमा कागजमामात्रै योजना बनाउँछ ।’

बाढी गएको एक वर्ष भइसक्यो । तर बगाएको खानेपानी आयोजना अझै उस्तै, चुँडिएको पाइप झुन्डिएको छ । पुल–पुलेसा छैनन् । सडक भत्केको छ र आवतजावत जोखिमपूर्ण छ । पनौती नगरपालिकाले खोला किनारमा तटबन्धका लागि ५० लाख विनियोजन गरेको छ । तर काम सुरु भएको छैन् ।

तीन तहका सरकारमध्ये कसैको ध्यान यहाँ पुग्न सकेको छैन । राहत छरिएको हो, पुनर्निर्माण होइन । स्थानीयहरूले आवाज उठाए, केही खानी बन्द पनि भए । तर दुई महिनामै ती पुनः कसरी सञ्चालनमा आए भन्ने स्थानीयलाई नै थाहा छैन । ‘कानुन बनाउनुपर्छ, खानीखोलामा ग्रावेल हाल्नै हुँदैन,’ बुद्धवीरले दुखेसो पोखे ।
अविरल वर्षाले रोशी–कोलाँती क्षेत्रलाई गम्भीर क्षति पुर्याएको एक वर्ष पूरा भइसक्दा पनि त्यहाँको पुनर्निर्माणको अवस्था नाजुक देखिन्छ ।

बाढीले बगाएका घरहरू अझैसम्म निर्माण हुन सकेका छैनन् । स्थानीयवासी विजय लामा तामाङकाअनुसार, ८० लाखमूल्यको घर बगाउँदा सरकारले मात्र ५० हजार रुपैयाँ सहयोग गरेको छ । ‘यति ठूलो क्षतिमा त्यस्तो सानो राहतले के पुग्छ?’उनी प्रश्न गर्छन् ।

उनले क्रसर उद्योग र ढुंगा–बालुवा खानीहरूले खोलाको प्राकृतिक बहावलाई अवरुद्ध गरेका कारण बाढी विनाशकारी बनेको समेत बताए । अहिले पनि नियमविपरीत सञ्चालन भइरहेका खानीहरूबारे कुनै ठोस कारबाही नभएको प्रति उनको गुनासो छ ।

‘नगरपालिकाकातर्फबाट आएको निरीक्षण र आश्वासनले मात्रै जनताको समस्या समाधान हुन सकेको छैन,’उनी भन्छन्, ‘सरकारले चन्दा होइन्, क्षतिपूर्ति देओस् ।’
रोशी–कोलाँतीका विस्थापितहरू भन्छन्, ‘हामी विकास विरोधी होइनौं तर विनाशको मूल्यमा विकास चाहिँ होइन । खानी सञ्चालन गर्नुअघि कडाइ गर्नुपर्छ, बजेट बनाउँदा गाउँका मान्छे हेर्नुपर्छ र योजनाहरू व्यवहारमा लागू गर्नुपर्छ । कागजमा होइन ।’

पनौति नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष जयराम केसी खत्री भने विपरीत धारणा राख्छन् । उनी भन्छन्, ‘२०८१ को असोज महिनामा आएको बाढीले पनौतिवासीहरूलाई गहिरो चोट दियो । तर अहिले अवस्था विस्तारै सामान्य बन्दै गएको छ । बस्तीहरू सुरक्षित बनाउन तटबन्ध, आरसिटी पर्खाल, वाललगायतका संरचना बनाइएका छन् ।’

उनकाअनुसार, करिब बस्तीका दुईसय ३ विस्थापित भएका थिए । खोलाको सिमांकन गरि सकिएको छ र खोला गहिराउने काम सकिएको छ । ‘हामीले पीडितहरूलाई राहत प्याकेज र सामग्री वितरण गरिसकेका छौं,’अध्यक्ष खत्री भन्छन् । उनले अझ धेरै काम गर्न बाँकी रहेको स्वीकारे । ‘भाडामा बस्नेहरूको अवस्था दयनीय छ । हामी असोज महिनासम्म पूरानो अवस्थामा फर्काउने योजनाअनुसार काम गरिरहेकाछौं,’ उनी भन्छन् ।

अध्यक्ष खत्रीले प्रदेश र केन्द्र सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो पनि गरे । ‘नगर र वडा साझेदारीमा काम गरिरहेकाछौं तर केन्द्र र प्रदेश सरकारले जति गर्नुपर्ने हो त्यो गरिरहेको छैन । हामीले पटक–पटक ढोका ढकढकाएका छौं,’उनले भने ।

उनले आगामीवर्षको बजेटमाबस्ती संरक्षणकालागिपर्याप्त बजेट विनियोजन गरिएको जानकारी पनि दिए । अध्यक्ष खत्रीले खानीहरुको कुरा गर्दै भने, ‘खानीहरू व्यवस्थित गर्नुपर्छ । बाटोभन्दा २०–३० मिटर पछाडि वाल लगाउनुपर्छ । हामी नियम विपरीतका खानीहरूलाई सुधार गर्नेतिर लागेका छौं ।’

वडाले विपद् व्यवस्थापनका लागि पूर्व तयारी योजना बनाएको दाबी गरेको छ । स्काईभेटर, जेसीबी, सेना, प्रहरी, सशस्त्रसँग समन्वय गरेर विपद्को स्थिति आएमा तत्काल परिचालन गर्न सकिने व्यवस्था गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *