सैनिकलाई बधाई दिन पञ्जाबको आदमपुर पुगे मोदी

काठमाडौं— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार बिहान पञ्जाबको आदमपुर एयरबेसमा पुगेका छन्। प्रधानमन्त्री मोदीले वायुसेनाका कर्मचारीहरूलाई भेटेर उनीहरूलाई युद्ध सफलतापूर्वक गरेकोमा बधाइ दिएका छन्।

प्रधानमन्त्री मोदीले आदमपुर एयरबेसको भ्रमणको बारेमा सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा पोस्ट सार्वजनिक गरेका छन्।

गत हप्ता दुई देशबीचको सैन्य द्वन्द्वमा पाकिस्तानी सेनाले भारतको आदमपुर एयरबेसमा आक्रमण गरेको र मिसाइल रक्षा प्रणाली S-400 नष्ट गरेको दाबी गरेको थियो।

तर भारतीय सेनाले आदमपुर एयरबेसमा आक्रमण गर्ने प्रयास भएको तर त्यसलाई असफल पारिएको जनाएको छ।

आफ्नो पोस्टमा प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘आज बिहान म एएफएस आदमपुर गएँ र हाम्रा बहादुर वायु योद्धाहरू र सैनिकहरूलाई भेटें। साहस, दृढ संकल्प र निडरताको प्रतीक रहेका मानिसहरूसँग हुनु एकदमै विशेष अनुभव थियो।’

उनले सेनाहरुलाई धन्यवाद दिंदै भने,’भारत हाम्रा सशस्त्र सेनाहरूले हाम्रो देशको लागि गरेको सबै कुराको लागि सधैं आभारी रहनेछ।’

सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले अपरेशन सिन्दूर अन्तर्गत भारतको सैन्य कारबाही भर्खरै स्थगित गरिएको बताएका थिए। आगामी दिनहरूमा पाकिस्तानले चालेको हरेक कदमको मूल्याङ्कन उसले अपनाएको मनोवृत्तिको आधारमा गरिने धम्की पनि उनले दिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *