रवि लामिछानेको मुद्दा फिर्ता गर्न रुपन्देही अदालतद्वारा अस्वीकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसमेत प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा तत्काल फिर्ता गर्न गरिएको निवेदनलाई रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ।

महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीको अभियोग यथावत् राखी सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयनका लागि जिल्ला सरकारी वकिल कार्यालयमार्फत निवेदन पेश गरेको थियो। तर, सो निवेदन कार्यान्वयन गर्न अदालतले नमानेको हो।

रुपन्देही जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार उक्त विषयमा सर्वोच्च अदालतमा रिट विचाराधीन रहेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म निवेदन पेश नगर्नू भन्ने आदेश भएको छ। माघ ६ गते न्यायाधीश श्यामलाल घिमिरेको इजलासले सर्वोच्च अदालतमा परेको रिटको अन्तरिम आदेशसम्बन्धी विषयमा अन्तिम निर्णय आएपछि मात्र पेश गर्नू भन्ने आदेश दिएको उनले जानकारी दिए।

यससँगै, महान्यायाधिवक्ता कार्यालयको निर्णयअनुसार संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने प्रयास हालका लागि रोकिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *