म भक्तपुरमा संकटको सारथी हुँ: महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले आफूलाई ‘सङ्कटका सारथि’का रूपमा प्रस्तुत गर्दै भक्तपुरको विकास यात्रालाई अझ तीव्र बनाउने प्रतिबद्धता जनाएका छन् ।

आफ्नो नेतृत्वमा भूकम्पले तहसनहस बनाएको भक्तपुरलाई पुनः उठाउने अभियानदेखि लिएर शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीका क्षेत्रमा उल्लेखनीय प्रगति सम्भव भएको उनको दाबी छ । बस्नेतले भने, ‘यो समय केवल एउटा कार्यकाल थिएन, यो विकासको अभियान थियो, योजनाले मात्र होइन, दृढ इच्छाशक्ति र निरन्तर मेहनतले यो सम्भव भएको हो।’

२०७२ सालको भूकम्पपछि भक्तपुरका धेरै विद्यालय, ऐतिहासिक सम्पदा र धार्मिक संरचनाहरू भत्किएका थिए । ती सङ्कटपूर्ण अवस्थाबाट भक्तपुरलाई उठाउन आफूले नेतृत्वदायी भूमिका खेलेको बस्नेतको भनाइ छ । उनका अनुसार भूकम्पले ढालेका विद्यालयहरू पुनः निर्माण भए, मठ–मन्दिर, पाटी–पौवा जस्ता सांस्कृतिक धरोहरहरू पुनर्जीवित भए । ‘ऐतिहासिक सम्पदा पुनर्निर्माण मात्र होइन, भक्तपुरको पहिचान जोगाउने अभियान पनि थियो,’ उनले भनर् ।

बस्नेतले आफ्नो कार्यकालमा पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य सेवाको विस्तार, पर्यटन प्रवर्द्धन तथा स्थानीय रोजगारी सिर्जनामा तीव्र प्रगति भएको दाबी गरेका छन् । उनले भक्तपुरलाई केवल ऐतिहासिक सहरको रूपमा होइन, अवसर र समृद्धिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको बताए ।

बस्नेतले आफू केवल भाषण र नीति बनाउने नेता नभई काम गरेर देखाउने ‘समृद्ध भक्तपुरको सारथि’ बन्न चाहेको बताए । उनले भने, ‘म केवल नीति बनाउने नेता होइन, समृद्ध भक्तपुर बनाउने सारथि बन्न चाहन्छु।’

बस्नेतले भक्तपुरमा अझै धेरै काम अधुरा रहेको भन्दै आगामी कार्यकालमा विकासको गति अझ बढाउने प्रतिबद्धता जनाए । ‘अझै अधुरा काम पूरा गर्न बाँकी छन्, विकासको गति अझ तीव्र बनाउन बाँकी छ, भक्तपुरलाई अवसर, रोजगारी र समृद्धिको केन्द्र बनाउन बाँकी छ,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *