माघे सङ्क्रान्तिमा बेत्रावतीमा गोरु जुधाइ मेला

काठमाडौं । रसुवा र नुवाकोटको सिमाना बेत्रावतीमा बिहीबार ११ हल गोरु जुधाइ प्रतियोगिता सञ्चालन हुने भएको छ।

हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा आयोजना हुँदै आएको गोरु जुधाइ मेला यस वर्ष पनि निरन्तरता दिन लागिएको हो।

प्रतियोगितामा भागलिनेको नाम दर्ताको अन्तिम दिनसम्म ११ हल गोरु दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ। प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भइसकेको स्थानीय गणेश श्रेष्ठले बताए।

गोरु जुधाइ अवलोकन गर्न आउने दर्शकका लागि पार्किङ स्थल, शौचालय तथा पिउने पानीको व्यवस्था गरिएको छ। साथै सस्तो मूल्यमा खाजा तथा खानाका लागि स्टलको समेत व्यवस्था गरिएको छ।

नेपाल र तिब्बतबीच १८४९ साल असोज १७ गते सम्पन्न बेत्रावती सन्धिको खुसीयालीमा मनाइँदै आएको गोरु जुधाइ मेलाले ग्रामीण पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। मेला अवलोकन गर्न रसुवासहित नुवाकोट, काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, भक्तपुर र ललितपुरलगायतका देशभरबाट हजारौँ दर्शक सहभागी हुने गरेका छन्।

कृषिमा आधुनिकीकरणसँगै हाते ट्याक्टरको प्रयोग बढ्दै जाँदा गाउँघरमा गोरु पाल्ने चलन घट्दै गएको कारण प्रतियोगिता सञ्चालनमा चुनौती देखिन थालेको क्लबले जनाएको छ।

प्रतियोगितामा सहभागी गोरु धनीहरूका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ भने जुधारु गोरुलाई भिटामिन तथा प्रतिस्पर्धामा सहभागी गोरुको बीमा समेत गरिएको आयोजकले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *