प्रिक्साले अधिग्रहण गर्यो दैलो कृषि, विश्वासिलो खाद्य प्रणाली बनाउने लक्ष्य
काठमाडौं । नेपालमा कृषि तथा खाद्य प्रणालीलाई अझै विश्वासिलो, सुरक्षित र पारदर्शी बनाउने उद्देश्यसहित प्रविधि कम्पनी प्रिक्सा (प्रिक्सा) ले दैलो कृषिलाई अधिग्रहण गरेको छ।
यो अधिग्रहणसँगै अब किसानबाट उत्पादन भएका तरकारी, फलफूल तथा खाद्यान्न कहाँ उत्पादन भयो, कसरी उपभोक्तासम्म आइपुग्यो भन्ने सम्पूर्ण जानकारी उपभोक्ताले सजिलै थाहा पाउने ट्रेसिबल (स्रोत खुल्ने) प्रणाली विकास गरिने प्रिक्साले जनाएको छ।
प्रिक्साका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनीष शर्माका अनुसार नेपालमा खाद्य क्षेत्रमा विश्वासको अभाव छ।
‘हामी जे खान्छौँ, त्यसमा भरोसा हुनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो,’ उनले भने। नेपाललाई केवल बजारका रूपमा नभई नयाँ खाद्य प्रणाली विकास गर्ने प्रयोगशालाका रूपमा हेरेर काम गरिरहेको उनको भनाइ छ।
दैलो कृषि किसान तथा सहकारीसँग सहकार्य गर्दै सिधै उपभोक्ताको घरसम्म ताजा र प्रमाणित कृषि उपज पुर्याउँदै आएको प्लेटफर्म हो। यसको संस्थापक धीरज चापागाईंको नेतृत्वमा दैलो कृषिले उत्पादनको स्रोत खुल्ने, पारदर्शी र उत्तरदायी प्रणालीमा निरन्तर काम गर्दै आएको छ।
प्रिक्साले दैलो कृषि अधिग्रहण गरेसँगै तुरुन्तै नाम परिवर्तन वा आक्रामक विस्तार गर्नेभन्दा पनि दीर्घकालीन दृष्टिकोण अपनाउँदै कृषि क्षेत्रमा विश्वासिलो, पारदर्शी र दिगो पूर्वाधार निर्माणमा केन्द्रित रहने जनाएको छ।
यो अधिग्रहणलाई नेपालमा खाद्य सुरक्षा मजबुत बनाउने, किसानलाई सशक्तीकरण गर्ने र उपभोक्ताको आत्मविश्वास बढाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


Facebook Comment