ड्रग्स काण्डमा मुछिएका अभिनेत्री रकुल प्रीतका भाइ अमन खोज्दै प्रहरी
काठमाडौं । बलिउड अभिनेत्री रकुल प्रीत सिंहका भाइ अमन प्रीत सिंह लागूऔषध (ड्रग्स) सम्बन्धी मुद्दामा फसेका छन् । तेलुगु र हिन्दी फिल्म उद्योगमा काम गर्दै आएका अमनमाथि हैदराबाद प्रहरीले ड्रग्स कारोबारमा संलग्न रहेको आरोप लगाएको छ ।
प्रहरीका अनुसार अमन हाल फरार छन् । उनलाई पक्राउ गर्न हैदराबाद प्रहरीले विशेष टोली गठन गरी खोजी अभियान तीव्र बनाएको छ । अनुसन्धानका क्रममा ड्रग्स कोरियरमार्फत आपूर्ति भइरहेको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अभियुक्तहरूसँग गरिएको सोधपुछमा नाइजेरियाली आपूर्तिकर्ताबाट कोकेन खरिद गरिँदै आएको खुलासा भएको छ । यो आपूर्तिकर्ताको सम्पर्क नक्कली नाममा सुरक्षित गरिएको प्रहरीले जनाएको छ।
गत डिसेम्बर २४ मा प्रहरीले यस प्रकरणमा दुई अफ्रिकी नागरिकलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका क्रममा अमन प्रीत सिंहसहित चार जना लागूऔषध प्रयोगकर्ताको पहिचान भएको हो । प्रहरीका अनुसार तीमध्ये अमन प्रीत सिंह पनि संलग्न रहेको पुष्टि भएको छ ।
प्रहरी स्रोतका अनुसार अमन प्रीत सिंहको नाम यसअघि पनि साइबराबाद प्रहरीले लागूऔषध सम्बन्धी मुद्दामा दर्ता गरिसकेको थियो । यस घटनाले भारतीय फिल्म उद्योगसँग जोडिएका व्यक्तिहरूमा बढ्दो ड्रग्स समस्यामाथि फेरि एकपटक प्रश्न उठाएको छ ।


Facebook Comment