चुनाव बहिष्कार गर्ने सूचनासहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइँदै

काठमाडौं । नागरिक बचाउ दलको अगुवाइमा विभिन्न राजनीतिक दलले निर्वाचन बहिष्कारको चेतावनीसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।

नागरिक बचाउ दलका केन्द्रीय अध्यक्ष माधव कल्पितको नेतृत्वमा विभिन्न राजनीतिक दल तथा नागरिक अगुवाको सहभागितामा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको कल्पितले बताए ।

उनले भने, ‘हामीले सरकारसँग राखेका विभिन्न जनतालक्षित माग थिए । ती माग पूरा भएका छैनन् । त्यसैले हामी निर्वाचनमा जानसक्ने अवस्था रहेन यही जानकारी गराउँदै अहिले सवा तीन बजे हामी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैछौँ ।’

निर्वाचनले जनताको भावना अनुसारको नतिजा ल्याउने गरी सरकारले गर्नपर्ने काम गर्न नसकेको निष्कर्ष आफूहरूले निकाले कल्पितले बताए । उनले भने, ‘जेन–जी आन्दोलनपछि गठन भएको सरकारले तोकेको निर्वाचनबारे हामी विभिन्न राजनीतिक दल, स्वतन्त्र राजनीतिक विश्लेषक तथा नागरिक समाजका अभियन्ताको गम्भीर ध्यानाकर्षण भएको छ । जेन–जी आन्दोलनको मूल उद्देश्य निर्वाचन नभई शान्ति, सुशासन र भ्रष्टाचारको अन्त्य थियो। तर आन्दोलनबाट उठाइएका माग तथा उद्देश्यहरू हालसम्म प्रभावकारी रूपमा सम्बोधन तथा कार्यान्वयन भएनन् । यो अवस्थामा हुने निर्वाचनले देश र जनताको चाहना तथा भावनाअनुसारको परिणाम आउन सक्ने वातावरण बनेको छैन ।’

उनले निर्वाचन केवल प्रक्रियागत औपचारिकता नभई दिगो शान्ति, सुरक्षा, सु–व्यवस्था र सुशासनको स्थापनाको माध्यम हुनुपर्छ भन्ने आफूहरूको धारणा रहेको बताए । कल्पितले संविधानभित्र रहेका केही त्रुटिपूर्ण तथा विवादित प्रावधानमा आवश्यक संशोधन, परिमार्जन वा न्यूनतम राजनीतिक समझदारी कायम नगरी निर्वाचनमा जानु उपयुक्त नहुने निष्कर्षसहित आफूहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको बताए ।
उनले भने, ‘सर्वसाधारण नागरिकहरूमाझ अझै पनि भय, त्रास र असुरक्षाको वातावरण विद्यमान छ । जेन–जी आन्दोलनका क्रममा खोसिएका तथा लुटिएका हातहतियारहरू र ठूलो संख्यामा रहेका कैदीबन्दी अझै सरकारको नियन्त्रणमा आएका छैनन् । यस्तो अवस्थामा कसरी निर्वाचन हुनसक्छ ।’

आम मतदाता तथा सर्वसाधारण नागरिकबी त्रासको वातावरण कायमै रहँदा निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्भव नहुने भएकाले सरकारबाट आवश्यक सुरक्षा, विश्वास र अनुकूल वातावरण सुनिश्चित नभएसम्म हामी तपसिलमा उल्लिखित दलहरू निर्वाचन प्रक्रियामा सहभागी हुन नसक्ने जानकारी गराउन प्रधानमन्त्रीलाई भेट्न हिँडेको कल्पितले बताए ।

प्रधानमन्त्रीसँगको भेटपछि देशमा दिगो शान्ति, सुशासन र जनविश्वास कायम हुने वातावरण निर्माणका लागि सरकार गम्भीर र जिम्मेवार ढंगले अघि बढ्नेछ भन्ने विश्वास लिएको उनले बताएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *