उदयपुरका ऐतिहासिक गढी जोड्दै नेपाली सेनाको ७ दिने पदयात्रा

काठमाडौं । नेपाली सेनाले उदयपुर जिल्लाका ऐतिहासिक तथा सामजिक दृष्टिले महत्वपूर्ण गढीहरूलाई पैदल मार्गमार्फत जोड्ने उद्देश्यसहित उदयपुरगढी चौदण्डीगढी पदयात्रा सञ्चालन गर्ने भएको छ। गाईघाटस्थित पशुपतिप्रसाद गणको आयोजनामा पुस २१ गतेदेखि २७ गतेसम्म पदयात्रा गरिनेछ।

नेपाली सेनाले अघिल्लो वर्षदेखि सुरु गरेको पदयात्रालाई निरन्तरता दिँदै यस वर्ष पनि कार्यक्रम अघि बढाएको हो। पदयात्राको तयारीस्वरूप मंगलबार स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, पर्यटन व्यवसायी, शैक्षिक क्षेत्र, पत्रकार तथा अन्य सरोकारवालासँग प्रारम्भिक चरणको समन्वय बैठक सम्पन्न गरिएको छ।

ऐतिहासिक र सामजिक महत्व उजागर गर्ने उद्देश्य

गणपति प्रमुख सेनानी मनोज कार्कीका अनुसार जिल्लामा रहेका ऐतिहासिक गढी तथा किल्लाहरूको संरक्षण गर्दै तिनको सामजिक महत्व जनस्तरसम्म पुर्‍याउनु पदयात्राको मुख्य उद्देश्य हो। उनका अनुसार तत्कालीन गणपति शिव वाग्लेले सुरु गरेको अभियानलाई निरन्तरता दिन यस वर्ष पनि पदयात्रा आयोजना गरिएको हो।

पदयात्राको विस्तृत मार्ग

पुस २१ गते उदयपुरगढी गाउँपालिका–५ स्थित उदयपुरगढीबाट सुरु हुने पदयात्रा उदयपुरगढी–४ डुम्रे, डुम्रे भञ्ज्याङ, द्वारे भञ्ज्याङ हुँदै रौतामाई गाउँपालिका–४ रानीबास प्रवेश गर्नेछ। त्यसपछि त्रियुगा नगरपालिका–१४ साउने हुँदै चौदण्डीगढी नगरपालिका–८ वीरेन्द्र बजार पार गर्दै चौदण्डीगढी–१ स्थित ऐतिहासिक चौदण्डीगढीमा पुगेर पुस २७ गते समापन हुनेछ।

शैक्षिक र सामाजिक कार्यक्रम पनि समेटिने

७ दिन लामो यात्राका क्रममा पदयात्रा प्रभावित क्षेत्रमा पर्ने विद्यालयहरूमा कविता, निबन्ध, हाजिरीजवाफ, खेलकुद प्रतियोगितालगायत विभिन्न शैक्षिक तथा चेतनामूलक गतिविधि सञ्चालन गरिनेछ। नयाँ पुस्तालाई इतिहास, भूगोल र नैतिक शिक्षाबारे जानकारी गराउने उद्देश्यले यी कार्यक्रम समावेश गरिएको गणले जनाएको छ।

व्यवस्थापन र बजेटमा स्थानीय तहको सहकार्य

समन्वय बैठकले पदयात्राका लागि आवश्यक व्यवस्थापन र बजेट सहयोग स्थानीय तहहरूले गर्ने निर्णय गरेको छ। पदयात्रालाई थप आकर्षक बनाउन नेपाली सेनाका सैनिकहरू ऐतिहासिक कालो पोशाकमा सहभागी गराउने सहमति पनि बैठकले गरेको छ।

बहुपक्षीय सहभागिता

बैठकमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, उदयपुरगढी गाउँपालिका उपाध्यक्ष जितबहादुर खड्का, रौतामाई गाउँपालिका उपाध्यक्ष भुपेन्द्र थापा, सुरक्षा निकायका प्रमुख, होटल तथा पर्यटन व्यवसायी, साइकलिङ संघ, पत्रकारलगायतको सहभागिता रहेको थियो।

पदयात्रामा नेपाली सेनासँगै अन्य सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा स्थानीय नागरिकहरूको सहभागिता रहनेछ। पदयात्रालाई भव्य र प्रभावकारी बनाउन नेपाली सेनाले सबै सरोकारवालासँग सहकार्यको अपिल गरेको छ। कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न चरणमा बैठक तथा प्रचारप्रसारका गतिविधि अघि बढाइएको जनाइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *