डा. आरजु राणा देउवाको निवासमा नगद जलेको अफवाह गलत, सर्वोच्चमा लिखित जवाफ

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेता डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा आगजनी हुँदा नगद जलेको भन्ने अफवाह गलत भएको दाबी गरेकी छन्।

आफूविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै डा. राणा देउवाले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलाइएको हल्ला पूर्ण रूपमा असत्य भएको बताएकी हुन्। उनले जवाफमा लेखेकी छन्, ‘म तथा मेरो पति, नेपाली कांग्रेसका सभापति र पूर्व प्रधानमन्त्री, हाम्रो निवासमा रकम जलेको भन्ने विभिन्न टेलिभिजन र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको भनाइ पूर्णतया गलत हो।’

राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी डा. राणासहितका व्यक्तिहरूले बेलैमा बैठक डाकेर सेना परिचालन नगरेको कारण जनधनको क्षति भएको भन्दै उनीहरूलाई कारबाही गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन पेश गरिएको थियो।

यसको जवाफमा डा. राणाले भनिन्, ‘शान्तिपूर्ण आन्दोलनमा उछृङ्खल समूहले हाम्रो निजी निवासमा प्रवेश गरी भौतिक आक्रमण गरेका थिए र मेरो निवासमा आगजनीसमेत भएको थियो, जसका कारण हामी घाइते भयौं। त्यस समयमा सुरक्षा परिषद्को बैठक डाक्न नसकिएको अवस्था थियो।’

उनले थपेकी छन्, ‘जहाँसम्म मेरो घरबाट रकम जलेको भन्ने सामाजिक सञ्जालमा फैलाइएको अफवाहको सम्बन्धमा सरकार र सम्बन्धित निकायबाट जाँच भै क्षतिपूर्ति समेत भैसकेको छ। आशंकामा आधारित पूर्वाग्रही आरोपयुक्त रिट निवेदन खारेज गरियोस्।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *