यूवा संघका ९ पूर्वउपाध्यक्ष: यो महाधिवेशनबाट को को आउलान एमालेको केन्द्रीय कमिटीमा ?
काठमाडौं । नेकपा एमालेको ११ महाधिवेशनको तयारी तीव्र रुपमा चलिरहेको छ । यो महाधिवेशनमा नयाँ नेतृत्व स्थापित गर्ने गरी ईश्वर पोखरेल समूह लागेको छ भने वर्तमान अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वलाई स्थापित गराउँदै थप सशक्त र मजबुद एमाले बनाउने रणनीतिसहित एमालेमा आन्तरिक छलफल पनि अघि बढिरहेको छ ।
अहिले सर्वसम्मत रुपमा पार्टीको नेतृत्व छान्ने गृहकार्य भइरहेका बेला केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म कसकसको दावेदारी भन्ने विषयले पनि चर्चा पाउन थालेको छ । धेरैले त आफ्नो एजेण्डासहित उम्मेदवारी घोषणा पनि गरेका छन् ।
पार्टीले अन्तिम समयसम्म सर्वसम्मत नेतृत्व चयनको कसरत गर्दा नभए प्रतिस्पर्धा राम्रै हुने आँकलन गरिएको छ । किनकि यो पटक धेरै नयाँ अनुहारले केन्द्रीय कमिटीमा प्रवेश गर्ने तयारी गरिरहेका छन् ।
पछिल्लो भदौ २३, २४ को जेन-जी आन्दोलनपछि पार्टीले पनि युवालाई ल्याउने गरी प्रतिनिधि छनौटमै एक क्लस्टर युवाको छानेको छ । यही कारणले पनि युवा नेताको एमाले केन्द्रीय कमिटीमा मोह बढ्नु स्वभाविक देखिन्छ ।
राजनीतिक पृष्ठभूमिमा प्रवेश गर्न पहिलो खुड्किलो विद्यार्थी राजनीति तथा एमालेमा युवा संघ सशक्त देखिन्छ । युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले युवाको मुद्दालाई स्थापित गर्न एमाले केन्द्रीय राजनीतिमा आउने प्रतिवद्धतासहित आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।
यस्तै युवा संघका पूर्वपदाधिकारीमध्ये केही उपाध्यक्ष पनि एमाले राजनीतिमा होमिने तर्खरमा छन् ।
राजनीतिमा सक्रिय युवा संघको पदाधिकारीमा रहेर बसेका र पार्टीपंत्तिको रक्षामा जुट्यो यो समूहलाई एमालेले माया गरेको पनि देखिन्छ ।
युवासंघका पूर्व उपाध्यक्ष अहिले कहाँ छन् र यो महाधिवेशनमा आफ्नो कस्तो उपस्थिति जनाउँछन् भन्ने विषयमा केही चर्चा गरौँ ।
१ रामजी सापकोटा
नेपाली उत्पादनलाई विदेश निर्यात गर्न लागि परेका व्यवसायिक युवा हुन रामजी सापकोटा । उपत्यकाको विशेष प्रदेश कमिटी अन्तर्गतको युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट महाधिवेशन प्रतिनिधि छनौट भएका उनी युवा पुस्तामा लोकप्रिय पनि छन् । सापकोटा नेपाली उत्पादनलाई विदेश निर्यात गर्न भूमिका खेल्ने व्यक्तिका रुपमा छवि बनाउँदैछ ।
नेपालमा भैसी उत्पादन गरी चीनमा भैसीको मासु निर्यात गर्ने सिन्धुलीको मरिनमा बन्दै गरेको कारखानालाई देशभर भैसी उत्पादन गराउन पहल गर्ने संयन्त्र बोर्ड सदस्यका रुपमा काम गरिरहेका उनी देशमै युवा स्वरोजगार बन्नुपर्छ भन्ने उद्देश्यसहित युवामाझ काम गरिरहेका छन् । त्यसैले पनि युवालाई उद्यमशीलतासँग जोड्न उनको योगदान महत्वपूर्ण हुन्छ ।
व्यवसायिक जीवनसँगै नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीका निवर्तमान अध्यक्षको जिम्मेवारी सम्हालेका उनले नेकपा एमाले ८औ, ९औं १०औ महाधिवेशन, मेची-महाकाली अभियान, झुलाघाट चिवा भञ्ज्याङ सवृद्धि यात्रा र पार्टीका राष्ट्रिय स्तरका अभियानमा स्वयसेवकका रुपमा महत्वपूर्ण मोर्चाको कमाण्ड सम्हालेकाले नेता पंत्तीमा सबैका प्रिय छन् । केन्द्रीय कमिटीले आफ्नो भूमिका खोज्ने अपेक्षा उनको छ ।
२ अञ्जना अधिकारी
मोरङबाट राजनीतिक यात्रा थालेकी नेतृ अञ्जना अधिकारी एमालेमा सशक्त आवाज उठाउने युवा नेताका रुपमा आफ्नो छवि बनाएकी छन् । महेश बस्नेतको नेतृत्वमा युवा संघ बन्दा उनी सबैभन्दा कम उमेरकी केन्द्रीय सदस्यका रुपमा परिचय बनाएकी थिइन ।
अहिले काठमाडौं क्षेत्र नम्बर १ लाई आफ्नो राजनीतिक थलो बनाएकी उनी एमाले भित्र जेन-जी आन्दोलनपछिका दिनमा अझ राम्ररी चिनिएकी छन् । जेन-जी आन्दोलनकै कारण एमाले नेतृत्वको सरकार ढल्यो, एमालेमाथि सशक्त प्रहार भयो । सामाजिक सञ्जाल एकताका एमाले विरोधमै केन्द्रित हुँदा अधिकारीले सामाजिक सञ्जालबाटै त्यसको प्रतिकार गरिन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको चट्टानी अडान देशलाई समृद्ध बनाउन नै केन्द्रित रहेको दावी गर्ने उनी ओलीकै नेतृत्वको एमालेमा केन्द्रीय कमिटीमा बसेर काम गर्ने योजना बनाएकी छन् ।
पार्टी नीति, थिति, विधि र अनुशासनबाट चल्नुपर्छ भन्ने उनले एमालेलाई मजबुद बनाउन ओलीकै नेतृत्व आवश्यक रहेको बताउँदै आएकी छन् ।
चतुर वाक कला भएकी अधिकारी युवा र जेन-जी समूहलाई आफूतर्फ आकर्षित गर्न र आफ्ना एजेण्डालाई समूहमा लैजान माहिर भएकाले, सँगै महिलाका मुद्दा, युवा मुद्दालाई उचित सम्बोधन गर्न पनि अब बन्ने केन्द्रीय कमिटीमा उनको उपस्थिति बलियो देखिन्छ ।
३. माधव बास्तोला
मदन भण्डारी फाउन्डेसन कास्कीका अध्यक्ष बास्तोला युवामाझ प्रिय छन् । विगतमा गण्डकी प्रदेशको कार्यालय सचिव भएर काम गरेका उनी सचिवालय सञ्चालनमा पनि राम्रो दख्खल राख्छन् ।
अहिले एमालेको ११ महाधिवेशनलाई कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधि छनौट भएका उनले केन्द्रीय समितिमा आफूलाई कडा दावेदारका रुपमा उभ्याएका छन् ।
४. हिरा केसी
केसी नेकपा एमाले बागलुङको अध्यक्ष हुन् । जिल्ला अधिवेशमा कार्यबाहक अध्यक्षको जिम्मेवारीमा रहेका कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्ष बनेका हुन् ।
राजनीतिसँगै वैकल्पिक उर्जा व्यवसायमा संलग्न केसी समृद्ध नेपाल निर्माणमा वैकल्पिक उर्जा प्रवर्द्धनलाई वकालत पनि गर्दै आएका छन् । बागलुङबाट महाधिवेशन प्रतिनिधि बनेका उनी एमालेमा प्रभाव बनाउन सक्ने युवा हुन् ।
५ चन्द्र लामा
काभ्रेका लामा पर्यटन र निर्माण व्यवसायी हुन् । बागमती प्रदेशका पूर्वमन्त्रीसमेत भएका उनी एमालेको संस्थापन पक्षका नेता मानिन्छन् ।
पार्टी राजनीतिमा राम्रो पहुँच भएका उनी काभ्रे निर्वाचन क्षेत्र नम्बर एकबाट ११ महाधिवेशन प्रतितिनिधि चयन भएका छन् । पार्टीको नयाँ कमिटीमा पनि उनी प्रभावकारी उपस्थिति जनाउने युवा नेताका रुपमा चिनिन्छन् ।
६. अमित लामा
पर्यटन र कृषि व्यवसायमा संलग्न लामा आफैँबाट आर्थिक समृद्धिको यात्रा सुरु गर्नुपर्छ भन्ने सोचका साथ पार्टी राजनीतिमा सक्रिय छन् । नेकपा एमाले बागमती प्रदेशका पूर्वसदस्य उनले युवालाई उद्यमशीलतासँग जोडेर अघि बढ्ने योजना बाँड्ने गरेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका उनी पनि अब महाधिवेशनमा केन्द्रीय समितिमा बसेर काम गर्ने योजनामा छन् ।
७. गजेन्द्र शाही
नेकपा एमाले डडेलधुराका पार्टी अध्यक्ष शाही स्थानीय तहमा रोजाइका एमाले नेता हुन् ।
पार्टीको महाधिवेशनलाई खुला प्रतिनिधि निर्वाचित उनी भौगोलिक रुपले पनि पश्चिम नेपालकै प्रतिनिधित्व गर्ने गरी पार्टीमा स्थान बनाउने योजनामा छन् । जिल्ला कमिटीसँगै पार्टीको केन्द्रीय कमिटीमा काम गर्ने योजनालाई यो महाधिवेशनले पूरा गर्ने अपेक्षा उनको छ ।
८. क्रान्ति बुर्लाकोटी
धादिङबाट पार्टी राजनीतिमा सक्रिय बुर्लाकोटी यो पटक केन्द्रीय कमिटीमा आउने गरी योजना बनाइरहेकी छन् । आफ्नो सर्कलमा उम्मेदवारीको विषयलाई लिएर चर्चा गर्दै छलफल अघि बढाइरहेकी उनले पार्टीमा अर्थ विभाग सचिवको रुपमा काम गरेकिछन् ।
९ उर्मिला सुनुवार
नेकपा एमालेको उपत्यका प्रदेश उपसिचव सुनुवार बागमती प्रदेश सांसद पनि हुन । सुनुवार नेकपा एमाले उपत्यका बिशेष प्रदेश कमिटीले सर्वसम्म रुपमा सिफारिस गरेको महाधिवेशन प्रतिनिधि हुन् ।
बागमती प्रदेश सभामा सहभागी भएका हिसाबले पनि उनी दर्बिलो उम्मेदवारका रुपमा हेरिएको छ । यद्यपी औपचारिक रुपमा कुन पदमा कहाँ उम्मेदवारी भन्ने नखुलाए पनि आफ्नो मजबुद उपस्थितिको पर्खाइमा रहेकी छन् ।
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ। एमालेमा दोस्रो विधान महाधिवेशनले कमिटीको आकार घटाएर १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव, ७ सचिवसहित १५ सदस्य पदाधिकारी र २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी हुने तय भएकाले महाधिवेशनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ।


Facebook Comment