एमाले महाधिवेशनको तयारी तीव्र २४ सय प्रतिनिधि र १० हजार स्वयमसेवक

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा उद्घाटन हुने भएको छ । महाधिवेशनको बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन गरिनेछ ।

महाधिवेशनमा आयोजक र निर्वाचित गरी कुल २ हजार ४ सय जना प्रतिनिधि सहभागी हुनेछन् । एमालेमा हाल ७७ जिल्ला र ७ विशेष जिल्ला गरी ८१ जिल्ला कमिटी रहेका छन् । पार्टीको संगठित सदस्य संख्याका आधारमा प्रतिनिधिको संख्या निर्धारण गरी छनोट गरिएको हो । प्रतिनिधि छनोट गर्दा प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार बनाइएको एमालेले जनाएको छ ।

पार्टी संरचनाअन्तर्गत २९ सदस्यीय अनुशासन आयोग, ३० सदस्यीय केन्द्रीय लेखा आयोग, २५ सदस्यीय निर्वाचन आयोग तथा २५ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद् रहने व्यवस्था छ । केन्द्रीय कमिटी, आयोग तथा विभिन्न निकायका पदाधिकारी र सदस्य भने स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । बाँकी प्रतिनिधि भने निर्वाचन प्रक्रियामार्फत छनोट भएर आएका हुन् ।

प्रदेश स्तरीय कमिटीबाट दुई जना महिला सदस्यसहित पाँच जनाका दरले ४५ जना प्रतिनिधि निर्वाचित भएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्रका हकमा १ हजार २ सय पार्टी सदस्य बराबर ४ जना प्रतिनिधि चयन गरिएको छ, जसमा ४० वर्षमुनिका कम्तीमा एक युवा र कम्तीमा एक महिला अनिवार्य गरिएको छ ।

महाधिवेशन सफल बनाउन १० हजार स्वयंसेवक परिचालन गरिँदैछन् । स्वयंसेवक पार्टीका २४ जनसंगठन तथा विभिन्न कमिटीहरू बाट तयार पारिएका हुन् । यसका साथै राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) ले पनि स्वयंसेवाको जिम्मेवारी सम्हाल्नेछ ।

महाधिवेशनका लागि उपमहासचिव प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा जनपरिचालन समिति गठन गरिएको छ । समितिमा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य विनोद श्रेष्ठ, भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा लगायत रहेका छन् ।

उद्घाटन स्थल सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफलमा फैलिएको खुल्लाचौरमा करिब दुई लाख जनाको सहभागिता समेट्न सक्ने क्षमता रहेको छ । मञ्च व्यवस्थापन, शौचालयलगायत आवश्यक पूर्वाधार निर्माणका लागि स्वयंसेवकहरू खटिइसकेका छन् ।

उद्घाटनका दिन पूर्वबाट आउने सवारीसाधनहरू जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारीसाधनहरू गठ्ठाघर हुँदै कमेरोटार क्षेत्रमा व्यवस्थापन गर्ने तयारी गरिएको छ । पार्टीले महाधिवेशनलाई ऐतिहासिक बनाउने लक्ष्यसहित व्यापक तयारी अघि बढाएको जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *