विदेशस्थित नेपालीलाई मताधिकार दिन १० देशका ६० विद्यार्थी समूहको माग
काठमाडौं । विभिन्न १० देशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको करिब ६० समूहले विदेशस्थित नेपाली नागरिकलाई आगामी निर्वाचनमा मतदान अधिकार सुनिश्चित गर्न सरकारसमक्ष औपचारिक माग गरेका छन् । अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, चीन, जापान, भारत, बंगलादेश, हङकङ र फ्रान्सलगायतका देशमा रहेका समूहले उक्त माग गरेका हुन् ।
नव युग, आइआरडी इन्सुलिएमेन, डिजिटल दस्तख, जेनजी मुभमेन्ट अलाइन्स, मुस्लिम जेनजी नेपाललगायत विद्यार्थी समूहले प्रधानमन्त्री, राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन् ।
विद्यार्थी समूहले विदेशमा रहेका नेपाली—विशेषगरी प्रवासी श्रमिक र विद्यार्थीलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन तत्काल कदम चाल्न आग्रह गरेका छन् ।
मुख्य मागहरू
१. डिजिटल मतदान प्रणाली
राष्ट्रिय परिचयपत्र वा राहदानीमार्फत एकीकृत प्रमाणीकरण
नागरिकता सम्बन्धी स्वयं घोषणा र डिजिटल बयान
डिजिटल रसिद र भोट सत्यापन प्रणाली
२. पूर्ण मतदान अधिकार
प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा सहभागी हुने व्यवस्था
३. तत्काल कार्यान्वयन
यसै महिनाभित्र स्पष्ट कार्ययोजना सार्वजनिक गर्ने
किन डिजिटल मतदान?
विद्यार्थी समूहले नीति अनुसन्धान प्रतिष्ठान र नेपाल पोलिसी इन्स्टिच्युटले बाह्य मतदानका लागि ‘आई–भोटिङ’ प्रभावकारी विकल्प भएको सिफारिस गरिसकेको उल्लेख गर्दै, यसलाई विद्यमान राष्ट्रिय परिचयपत्र प्रणालीसँग सजिलै एकीकृत गर्न सकिने बताएका छन् ।
अन्तरिम सरकारले विदेशस्थित नागरिकलाई मताधिकार दिने प्रतिबद्धता जनाएपछि तीन महिना बितिसक्दा पनि ठोस कार्ययोजना नआएकोप्रति विद्यार्थीहरूले चिन्ता व्यक्त गरेका छन् ।
उनीहरूले निर्वाचन आयोगलाई आवश्यक प्राविधिक पूर्वाधार शीघ्र विकास गर्न, र आयोगमा रिक्त पदमा दक्ष र निष्पक्ष जनशक्ति नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।



Facebook Comment