सेलिब्रेटीको राजनीतिक यात्रामा अपवाद बन्लिन रीमा ?
काठमाडौं । नेपाली राजनीति पछिल्लो एक दशकयता ग्ल्यामर क्षेत्रबाट आएका अनुहारप्रतिको आकर्षणले तानिएको देखिए पनि उनीहरू टिक्न नसक्ने प्रवृत्ति दोहोरिन थालेको छ । चर्चित अभिनेत्री तथा सार्वजनिक व्यक्तित्वहरूले दल–दलमा फड्को मार्दा पनि राजनीतिक धरातल मजबुत बनाउन नसक्नु सामान्यजस्तै भएको छ।
रेखा थापा, करिश्मा मानन्धर, कोमल वलीजस्ता लोकप्रिय नामहरूको प्रारम्भिक चर्चा फेरि अपेक्षित सफलता र दीर्घकालीन भूमिकामा रूपान्तरित हुन सकेन।
ट्रोल र विवादमा सेलिब्रेटी: राजनीति छैन सहज
करिश्मा मानन्धरदेखि लिएर एलिजा गौतमसम्म, राजनीतिमा प्रवेशसँगै सामाजिक सञ्जालको व्यङ्ग्य र आलोचना सेलिब्रेटीहरूले नियमित भोग्दै आएका छन् । दल दर्ता प्रक्रियामा एलिजा गौतमले दिएको हतारो भाषणले समेत उनलाई अनलाइन ट्रोलिङको केन्द्र बनायो ।
गौतमलाई पत्रकार ऋषि धमलाको राजनीतिक ‘ब्याकअप’ भए पनि उनको सार्वजनिक छवि कहिलेकाहीँ ‘स्लिप अफ टङ’ कै कारण विवादमा परिरहन्छ । सहकारी पीडितको पक्षमा आन्दोलन गर्दा उनी गलत अभिव्यक्तिले फेरि चर्चामा आएकी थिइन् ।
सेलिब्रेटीको राजनीतिक निरन्तरता नै ठूलो चुनौती
राजनीतिक दलहरू समय–समयमा लोकप्रिय अनुहारलाई पार्टीमा भित्र्याउँदै आए। राप्रपाले हाल मिस नेपाल २०२४ आस्मा कुमारी केसीलाई सिधै केन्द्रीय सदस्य बनाएको छ।
यसअघि कोमल वली र रेखा थापा त्यही पार्टी हुँदै राजनीतिमा होमिएका थिए । तर, वली एमाले प्रवेश गरेपछि राष्ट्रियसभादेखि प्रतिनिधिसभासम्म पुगे पनि पछिल्लो समय सक्रियता घटेको छ ।
रेखा थापाले पनि माओवादीदेखि राप्रपा हुँदै चुनावी प्रतिस्पर्धा गरिन्, तर स्थिर भूमिकाको निष्कर्षमा पुग्न सकिनन् ।
करिश्मा मानन्धरको राजनीति प्रवेशले सुरुदेखि नै ट्रोल र समालोचनाको दबाब झेल्यो, जसले उनको राजनीतिक छवि अझै मजबुत हुन दिइरहेको छैन ।
रीमा विश्वकर्मा: नयाँ अनुहार, नयाँ सम्भावना
यही क्रमसँगै मोडल तथा नायिका रीमा विश्वकर्माले उज्यालो नेपाल पार्टी हुँदै राजनीति यात्रा सुरु गरेकी छन् । विवादभन्दा टाढा रहँदै आएको उनको सार्वजनिक छवि अन्य सेलिब्रेटीबीच छुट्टै पहिचान झैँ देखिन्छ ।
उनले आफ्नो प्रेरणा ऊर्जा मन्त्री कुलमान घिसिङलाई बताउँदै, देशलाई ‘परिणाममुखी नेतृत्व’ चाहिएको धारणा राखेकी छन् । लोडसेडिङ अन्त्यले आफूलाई राजनीतिक रूपमा सचेत बनाएको स्मरण गर्दै, अब आफू आवाजविहीनको पक्षमा उभिने प्रण गरेको उनले सार्वजनिक कार्यक्रममै व्यक्त गरिन् ।
पूर्व सेलिब्रेटीको अनुभवले देखाएको पाठ
प्रारम्भिक चर्चा लामो समय टिक्दैन । टिकेर काम गर्न पनि चुनौती छ । त्यसो त जनताको राजनीतिक अपेक्षा र सेलिब्रेटीको पब्लिक इमेजबीच ठूलो अन्तर यो राजनीतिमा होमिने सेलिब्रेटीले बुझ्न जरूरी छ । अनि पार्टीभित्रको प्रतिस्पर्धा र गुटबन्दी सधैँ सहज हुँदैन । यसको मिलानमा ठूलो भूमिका हुन्छ । लोकप्रियता र मतदाताको भरोसा सधैं एउटै कुरा होइन् भन्ने बुझ्न जरुरी छ । यी चुनौतीलाई सामना गर्न आएकी रीमालाई अब राजनीतिमा मोडेल बन्ने अवसर पनि छ ।
पहिलेका धेरै सेलिब्रेटी राजनीतिमा लामो समय टिकेनन् । तर रीमा विवादभन्दा टाढा, स्पष्ट एजेन्डा र कार्यशैलीप्रतिको आकर्षणका साथ अघि बढे भने उनले अन्य सेलिब्रेटीभन्दा फरक उदाहरण पनि स्थापित गर्न सक्छिन् ।
अघिल्ला सेलिब्रेटीहरूको राजनीतिक यात्रा जस्तै उनको छवि पनि केही वर्षमै फिका होला कि, वा उनी ‘नयाँ प्रहरको सेलिब्रेटी–राजनीतिज्ञ’ बन्नेछिन् ? यसको जवाफ भविष्यले दिनेछ ।


Facebook Comment