साम्राज्ञीको इन्गेजमेन्टपछि सामाजिक सञ्जालमा तरंग : हुनेवाला श्रीमान् डिभोर्सी र एक सन्तानका पिता रहेको खुलासा

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको हालै सम्पन्न इन्गेजमेन्टपछि सामाजिक सञ्जालमा विभिन्न चर्चा सुरु भएको छ । उनले अमेरिकामा बस्दै आएका विशाल खरेलसँग इन्गेजमेन्ट गरेकी हुन्, जो यसअघि वैवाहिक जीवनमा रहेर एक सन्तानका पिता भइसकेका व्यक्ति भएको पुष्टि भएको छ ।

साम्राज्ञी र विशालबीच थाइल्यान्डमा एउटा म्युजिक भिडिओको छायांकनका क्रममा सहकार्य हुँदा उनीहरू नजिकिएको बताइन्छ । विशाल विवाहित रहेको जानकारी हुँदाहुँदै पनि साम्राज्ञी उनीसँग नजिकिएको आरोप उनकी पूर्वपत्नी सरिताले लगाएकी छन् । सरिताले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमार्फत आफ्नो भनाइ सार्वजनिक गरेकी हुन् ।

उनका अनुसार, “त्यो महिला (साम्राज्ञी) लाई हामी म्यारिड भएको र बच्चा भएको थाहा थियो । थाइल्यान्डमा सुटिङका क्रममा मेरो एक्स र उनीबीच सम्बन्ध रहेको थाहा पाएपछि सोधपुछ गर्दा उसले स्वीकार गर्‍यो । त्यसपछि हामी अलग भएका हौँ,” उनले भनेकी छन् ।

डिभोर्सपछि दुई वर्षे सन्तानको पालनपोषण सरिताले गर्दै आएकी छन् । आफू अहिले जीवनमा अघि बढिसकेको उल्लेख गर्दै उनले आफू र बच्चालाई असर पार्ने गरी ट्रोल नगरिदिन आग्रह गरेकी छन् । साथै, आफ्नो नाममा खोलिएका विभिन्न सामाजिक सञ्जाल अकाउन्ट आफूले सञ्चालन नगरेको उनको दाबी छ ।

तीन दिनअघि साम्राज्ञीले सामाजिक सञ्जालमार्फत आफ्ना इन्गेजमेन्टको जानकारी दिएकी थिइन् । तर, उनले दुलाहाको पहिचान खुलाएकी थिइनन् र अनुहार नदेखिने गरी तस्वीर पोस्ट गरेकी थिइन् । यसैबीच, उनका हुनेवाला पति एक सन्तानका पिता भएको चर्चा सामाजिक सञ्जालमा व्यापक बनेको हो ।

साथै, विशाल खरेल पाँच वर्षअघि नेपालबाट अमेरिका गएका भुटानी शरणार्थी भएको दाबी पनि सामाजिक सञ्जालमा फैलिएको छ । यद्यपि, यस विषयमा साम्राज्ञी वा विशालको आधिकारिक प्रतिक्रिया भने अझै सार्वजनिक भएको छैन ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *