अस्ट्रेलियामा चार दिनमै ५७ लाख कमायो परानले

काठमाडौं । नेपाली कथानक चलचित्र परान विदेशमा पनि रिलिज हुन थालेको छ । २०८२ सालमा सर्वाधिक कमाउन सफल यो फिल्मले अस्ट्रेलियामा पनि उत्साहजनक कमाइ गरेको देखिएको छ । प्रदर्शनको चौंथो दिनसम्म फिल्मले अस्ट्रेलियामा ६२ हजार अस्ट्रेलियन डलर (५७ लाख २१ हजार नेरु ग्रस) कमाएको वितरकले जनाएका छन् ।

यो फिल्मलाई नमस्ते इन्टरटेनमेन्टले त्यहाँ रिलिज गरेको हो । फिल्मको विश्वब्यापी वितरण अधिकार भने सेभेन सिज सिनेमाजले लिएको हो ।

नमस्ते इन्टरटेनमेन्टले अस्ट्रेलिया र न्यूजिल्याण्डको वितरण अधिकार लिएको हो । वितरक देव कार्कीका अनुसार यो फिल्म अहिले ३० भन्दा धेरै शोसहित त्यहाँ प्रदर्शन भैरहेको छ ।

निर्माता रन्जित आचार्यले अस्ट्रेलियामा यससाता रिलिज भएका अन्य फिल्मको कमाइ हेर्दा पनि ‘परान’को कलेक्सन चौंथो स्थानमा छ । ‘अस्ट्रेलियामा ’परान’ बलिउड र हलिउड फिल्महरुका बिचमा प्रदर्शन भइरहेको छ’ उनले भने ।

यसरी हेर्दा ’परान’ले अस्ट्रेलियाको बक्स अफिसमा यो साता पार गर्दैगर्दा १ लाख अस्ट्रेलियन डलरको आम्दानी पार गर्ने आंकलन गरिएको छ ।

नेपालको बक्सअफिसमा फिल्मको कमाइ हालसम्म १४ करोड नाघेको छ । चौथो शनिबारसम्म फिल्मले बक्स अफिसमा १४ करोड १६ लाख ५१ हजार ३९२ रुपैयाँ ग्रस कमाएको छ ।

फिल्मले चौथो शनिबार पनि नेपालमा १ करोडभन्दा माथिको व्यापार गर्न सफल भएको थियो । दीपक आचार्य निर्देशित फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अन्जना बराइली, प्रवीण खतिवडा, महेश त्रिपाठी, बुद्धि तामाङ लगायतको अभिनय छ । रञ्जित आचार्य र शेखर गोल्छाको लगानी छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *