जेनजी नेताद्वारा धम्की र गृहआक्रमणको आरोप : एमाले नेता कृष्णकुमार श्रेष्ठ भन्छन् ; ‘घर फेरि जलाउने चेतावनी’

काठमाडौं । नेकपा (एमाले)का नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङले आफ्नो निजी निवासमा अनधिकृत प्रवेश गरी धम्की दिएको आरोप लगाएका छन् । शनिबार बिहान करिब ११ बजे जेनजीको नेता हुँ भन्दै गुरुङ बाराको जीतपुर सिमरा उपमहानगरपालिका–४, औराहास्थित श्रेष्ठको घरमा प्रवेश गरी लुटपाट र गुन्डागर्दी शैलीमा आतंक मच्चाएको उनले बताएका छन् ।

श्रेष्ठका अनुसार घटनाका बेला उनी पार्टी कामका सिलसिलामा काठमाडौंमा थिए । गुरुङले घरमा रहेका कर्मचारी तथा कामदारलाई धम्क्याउँदै ‘किसान श्रेष्ठको घर फेरि जलाउँछु’ भन्ने चेतावनी दिएका थिए ।

शनिबार अपराह्न सामाजिक सञ्जालमार्फत सार्वजनिक प्रतिक्रियामा श्रेष्ठले उक्त घटनाको कडा भर्त्सना गर्दै जेनजीको नाममा भइरहेको आतंक रोक्न सरकारसँग माग गरेका छन् । ‘म काठमाडौं गएको मौका छोपी आज बिहान मेरो घरमा प्रवेश गरी पुनर्निर्माणमा संलग्न कर्मचारीलाई धम्क्याउने र फेरि घर जलाउने चेतावनी दिनु अत्यन्त निन्दनीय हो,’ उनले फेसबुकमा लेखेका छन् ।

श्रेष्ठले बाराको सिमरामा मंसिर ३ र ४ गते भएको झडपप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै, घाइतेहरूको उपचारका लागि सरकारसँग उचित व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

उक्त घटनाक्रम अन्तर्गत मंसिर ३ गते एमाले कार्यकर्ता र जेनजीबीच सिमरामा झडप भएको थियो । त्यसक्रममा जेनजी समूहले विमानस्थलको गेट तोडफोड गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । मंसिर ४ गते पुनः प्रदर्शन भएपछि प्रशासनले कर्फ्यु लगाएको थियो । कर्फ्यु अवज्ञा गर्ने क्रममा तीन जनालाई प्रहरीले पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।

एमालेले भने जेनजीले आफ्ना नेता–कार्यकर्तामाथि अवरोध गर्न खोजेको आरोप लगाएको छ । मंसिर ३ गते बाराको परवानीपुरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन सिमरा जाँदै गरेका एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत उडान अवरुद्ध भएपछि काठमाडौंमै रोकिएका थिए ।

यसै घटनापछि उत्पन्न तनाव र अशान्त अवस्थाको समाधानका लागि जेनजी र प्रशासनबीच पथलैयामा वार्ता सम्पन्न भएको थियो । उक्त वार्तामा सहमति भएसँगै जेनजीले प्रदर्शन स्थगित गरेको जनाइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *