कर्फ्यू लाग्नुअघि के भएको थियो सिमरामा ?

काठमाडौं ।  बाराको सिमरामा बुधबार नेकपा एमालेका नेता–कार्यकर्ता र जनजागरण युवा–जेनजी पुस्ताका युवाबीच झडप भएको छ।

झडपका कारण सिमरा विमानस्थल क्षेत्र तनावग्रस्त बनेको छ भने प्रदर्शनकारीहरूले विमानस्थलको गेट भत्काएका छन्। ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले जानकारी दिएका छन्।

बुधबार बाराको परवानीपुरमा एमालेको मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा एमाले महासचिव शंकर पोखरेल र एमाले पोलिट्ब्युरो सदस्य तथा युवा संघ इञ्चार्ज महेश बस्नेत सिमरा आउँदै थिए।

स्थानीय स्रोतका अनुसार, पार्टी कार्यक्रमको जानकारी पाएपछि केही युवाहरूले भेला विघटन गर्न जेनजीलाई प्रदर्शनका लागि आह्वान गरेका थिए। बुधबार बिहानैदेखि सिमरा क्षेत्रमा ती युवा जम्मा हुन थालेका थिए।

त्यस्तै, काठमाडौंबाट आउँदै गरेका पार्टी महासचिव तथा नेताहरूलाई स्वागत गर्न जाने क्रममा एमालेका बाराका नेताहरू विमानस्थलतर्फ जाँदै गर्दा दुवै पक्षबीच वादविवाद भएको थियो। सो क्रममा एमालेका एक नेताले एक युवालाई थप्पड हानेपछि स्थिति तनावग्रस्त बनेको स्थानीयहरूले बताएका छन्।

झडपपछि आक्रोशित युवाहरू विमानस्थल पुगे र तोडफोड सुरु गरे। हालसम्म काठमाडौंबाट आउने नेताहरू रोकिए भने निवर्तमान सांसदहरू किशान श्रेष्ठ, अच्युत मैनाली, ज्वाला साह लगायतका नेताहरू सुरक्षित हुन विमानस्थलभित्रै बस्नुपर्‍यो ।

प्रहरीले विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै स्थिति नियन्त्रणमा लिएको छ भने प्रशासनले कर्फ्यू लगाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *