तीन दिनदेखि फरार निकोलस भुसाल पक्राउ

काठमाडौं । लगातार तीन दिनदेखि प्रहरीको खोजी सूचीमा रहेका निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार भुसाललाई सार्वजनिक शान्ति र सुरक्षामा खलल पुर्‍याएको आरोपमा पक्राउ गरिएको हो। उनले पछिल्ला दिनमा विभिन्न सामाजिक सञ्जाल र सार्वजनिक स्थलहरूमा अराजक अभिव्यक्ति दिँदै आएका थिए।

तीन दिनअघि भुसालले माइतीघर मण्डलामा प्रदर्शनको आव्हान गरेका थिए, तर तोकिएको समयमा उनी स्वयं उपस्थित भएनन्। प्रहरीले त्यसपछि उनलाई खोजी सूचीमा राखेको थियो।

यसअघि पनि भुसाल माइतीघरमा भएको प्रदर्शनको क्रममा पक्राउ परेका थिए। सो क्रममा उनले गाँजा सेवन गरेको प्रमाणित भएपछि रिह्याब सेन्टरमा उपचार सर्तमा परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको थियो।

प्रहरीका अनुसार अहिले भुसाललाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ र उनको गतिविधिबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *