अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प, पाँचको मृत्यु , सयौँ घाइते
काठमाडौं । अफगानिस्तानको विभिन्न प्रान्तहरूमा सोमबार राति गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पले ठूलो जनधन क्षति पुर्याएको छ । प्रारम्भिक विवरणअनुसार भूकम्पमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन् ।
अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प स्थानीय समयअनुसार राति करिब १ बजे गएको हो । प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भूकम्पको धक्का देशका उत्तरपश्चिम, मध्य, पश्चिम, उत्तर, उत्तर–पूर्व तथा पूर्वी क्षेत्रसम्म पुगेको उल्लेख छ ।
प्रारम्भिक विवरण अनुसार भूकम्पको केन्द्रबिन्दु समंगन प्रान्तमा रहेको र त्यही क्षेत्र सबैभन्दा बढी प्रभावित भएको जनाइएको छ । ‘समंगन केन्द्रबिन्दु भएको पुष्टि भएको छ । अहिलेसम्म पाँच जनाको मृत्यु र १४३ जना घाइते भएका छन्, जसमा धेरैजना उपचारपछि घर फर्किइसकेका छन्,’ प्राधिकरणको विज्ञप्तिमा भनिएको छ ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा भौतिक सम्पत्तिको समेत क्षति पुगेको छ, तर विस्तृत विवरण संकलन भइसकेपछि मात्रै सार्वजनिक गरिने बताइएको छ । अहिले केन्द्र र स्थानीय निकायबीच समन्वय गरी उद्धार तथा राहतका कार्य तीव्र गतिमा भइरहेको प्राधिकरणले जनाएको छ ।
यसअघि गत सेप्टेम्बरमा अफगानिस्तानको पूर्वी प्रान्तमा गएको ६.० म्याग्निच्युडको भूकम्पमा १,४०० भन्दा बढीको मृत्यु र ३,००० भन्दा बढी घाइते भएका थिए । संयुक्त राष्ट्रसंघको मानवतावादी समन्वय कार्यालय (OCHA) का अनुसार सो भूकम्पबाट करिब १२,००० मानिस प्रत्यक्ष रूपमा प्रभावित भएका थिए ।


Facebook Comment