काठमाडौं । कोशी प्रदेशका उदयपुर, मोरङ, सुनसरी र झापाका विभिन्न स्थानहरूबाट प्रहरीले प्रतिबन्धित लागू औषधसहित सात जनालाई पक्राउ गरेको छ । कार्तिक १६ गते विभिन्न प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डिगढी नगरपालिका–७ का पर्शुराम तिमल्सिना र चौदण्डिगढी–६ का बिबेक राईलाई ३३ एम्पुल प्रतिबन्धित औषधसहित पक्राउ गरेको जनाएको छ । सोही क्रममा बेलका नगरपालिका–९ का बलबहादुर विकलाई १० किलोग्राम २३० ग्राम गाँजासहित नियन्त्रणमा लिइएको छ ।
त्यसैगरी बेलका–८ कोठु दोभानस्थित सप्तकोशी नदीमा बगिरहेको अवस्थामा २ वटा रबर ट्युबमा राखिएको ६ बोरा गाँजा प्रहरीले बरामद गरेको छ, जसको तौल १ सय ३४ किलोग्राम रहेको बताइएको छ ।
झापाको इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी नगरपालिका–१० का झलकनाथ अर्याललाई १ सय १९ ट्याब्लेट प्रतिबन्धित औषधसहित नियन्त्रणमा लिएको छ ।
सुनसरीको प्रहरी चौकी भरौलले बराहक्षेत्र नगरपालिका–८ का इन्द्रबहादुर परियारलाई २५ क्याप्सुल ट्रामाडोल र ४५ ट्याब्लेट नियन्त्रित लागू औषधसहित पक्राउ गरेको जनाएको छ ।
यसैबीच, लागू औषध नियन्त्रण ब्युरो विराटनगरले मोरङको सुन्दरहरैचा–४ का रोमन राई र केरावारी–१० का पूर्ण तामाङलाई १२ ग्राम ८१ मिलिग्राम ब्राउन सुगरसहित विराटनगर–१६ बाट नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेका सबैविरुद्ध लागू औषध सम्बन्धी मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान अघि बढाइएको छ ।


Facebook Comment