‘अब देशभर श्रमदान गर्नेछौं’ , हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङद्वारा स्थापना गरिएको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले औपचारिक मान्यता प्रदान गरेको छ। आयोगले आइतबार औपचारिक रूपमा पार्टी दर्ता स्वीकार गर्दै मान्यता दिएको हो।

मान्यता प्राप्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेयर साम्पाङले आफ्नो नयाँ राजनीतिक दल श्रम, उत्पादन र सामाजिक रुपान्तरणको मूल एजेण्डा लिएर अघि बढ्ने बताएका छन्।

उनका अनुसार, श्रम संस्कृति पार्टी भाषण र कागजी योजनामा सीमित नभई प्रत्यक्ष फिल्डमा गएर काम गर्ने संगठन हुनेछ।
साम्पाङले भने, ‘हाम्रो एजेण्डा काम गर्ने हो। जुन काम आजसम्म यो देशमा भएको छैन, हामी त्यही गर्न निस्केका हौं। उत्पादन, निर्माण र रुपान्तरणका लागि हामी श्रमको बाटो समात्नेछौं।’

साम्पाङले आफू अब एक्लो अभियन्ता नभई देशभरका श्रमिक र आम नागरिकसँग मिलेर राष्ट्रिय स्तरको अभियान सुरु गर्न पाएकोमा खुशी व्यक्त गरे।
उनले थपे, ‘पहिले म धरानमा मात्र श्रमदान गर्थें, अब देशभर श्रमदान गरेर राष्ट्र निर्माणमा योगदान दिन पाउने अवसर पाएको छु।’

श्रम संस्कृति पार्टीको दाबी छ , श्रमलाई सम्मान र संस्कृतिको रूपमा स्थापित गर्दै देशको समृद्धि आफ्नै हातले निर्माण गर्ने यसको मूल लक्ष्य हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *