विद्युत विवाद संवादबाट समाधान गर्न मुख्यमन्त्री कार्कीको आग्रह

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल विधुत प्राधिकरण र निजी क्षेत्रबीच उत्पन्न विवादलाई वार्ता र संवादमार्फत समाधान गर्न आग्रह गरेका छन्।

शुक्रबार जारी गरेको एक प्रेस विज्ञप्तिमार्फत मुख्यमन्त्री कार्कीले उद्योगहरूमा विधुत आपूर्ति रोकिँदा उत्पादन र रोजगारीमा गम्भीर असर परेको जनाउँदै तत्काल वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेका हुन्।

उनले उद्योग बन्द हुँदा केवल अर्थतन्त्रमै नभई जनजीविकामा समेत नकारात्मक प्रभाव परेको उल्लेख गर्दै भनेका छन्, ‘अर्थतन्त्रलाई पुनः गति दिन सरकार र निजी क्षेत्रबीच सहकार्य र विश्वास पुनःस्थापना आवश्यक छ।’

मुख्यमन्त्री कार्कीका अनुसार, गत भदौ २३ र २४ गतेका आन्दोलनका क्रममा निजी उद्योग, सुपरमार्केट, कलकारखाना र सञ्चार संस्थामा भएको तोडफोड तथा आगजनीका कारण लगानीकर्ताहरूमा असुरक्षाको भावना बढेको छ। यसले स्वदेशी र विदेशी दुवै लगानीकर्तालाई निरुत्साहित गर्ने खतरा रहेको उनको भनाइ छ।

उनले सरकारले अभिभावकको भूमिकामा रहँदै सुरक्षा सुनिश्चितता र उद्योग सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
कार्कीले निजी क्षेत्र र सरकारबीच लामो समयसम्म असमझदारी रहनु दुर्भाग्यपूर्ण हुने उल्लेख गर्दै बहुआयामिक असरहरूलाई ध्यानमा राखी स्थायी समाधानका लागि साझा पहल आवश्यक रहेको बताएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *