शिक्षामा सहयोगी हात: अष्ट्रेलियाबाट पत्रकार पौडेल ‘उदास’द्वारा ५२ विद्यार्थीलाई अध्ययन सामग्री वितरण
काठमाडौं । भरतपुर महानगरपालिका ६ स्थित श्री माध्यमिक विद्यालय इन्द्रपुरीका आर्थिक रूपमा कमजोर र मेधावी विद्यार्थीहरूलाई अध्ययन सामग्री तथा स्टेशनरी वितरण गरिएको छ।
विद्यालयका पूर्वविद्यार्थी तथा हाल अष्ट्रेलियाको एडिलेडमा बसोबास गर्दै आएका पत्रकार विकास पौडेल ‘उदास’को सहयोगमा ५२ जना विद्यार्थीलाई आवश्यक अध्ययन सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ।

विद्यार्थीहरूको अध्ययनमा उत्साह र प्रेरणा अभिवृद्धि गर्ने उद्देश्यले गरिएको सो सहयोग कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि स्वयं सहयोगदाता पौडेल ‘उदास’ रहेका थिए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शान्ति अधिकारी, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सन्तोष कोइरालाले गरेका थिए।
स्वागत मन्तव्यका क्रममा प्रधानाध्यापक अधिकारीले पत्रकार पौडेलको विद्यालयप्रतिको निरन्तर सहयोग र समर्पणप्रति आभार व्यक्त गर्दै भनिन्,
‘विद्यालयप्रतिको उहाँको माया र योगदानले हामी सबैलाई हौसला मिलेको छ।’

त्यसैगरी प्रमुख अतिथि पौडेलले विद्यार्थीहरूलाई अध्ययनशील, इमानदार र लक्ष्यप्रति दृढ रहन आग्रह गर्दै भने,
‘शिक्षा नै जीवन परिवर्तनको माध्यम हो। म जहाँ भए पनि विद्यालय र विद्यार्थीका लागि सधैं सहयोग गर्न तयार छु।’

कार्यक्रमका क्रममा विद्यालयले पौडेललाई विद्यालयको शैक्षिक तथा सामाजिक उत्थानमा पुर्याएको योगदानको कदर गर्दै प्रशंसा पत्र प्रदान गरेको थियो। विद्यालय व्यवस्थापन समिति र शिक्षक–कर्मचारीहरूले पनि पौडेलले विगतमा विद्यालयको पूर्वाधार विकासदेखि शिक्षण सामग्री वितरणसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे।

उत्साहजनक वातावरणमा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकहरूले पत्रकार पौडेलप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै उहाँको सहयोगी भावना विद्यालयका लागि प्रेरणाको स्रोत भएको बताए।
विद्यालयका अनुसार, यो कार्यक्रम पत्रकार पौडेल ‘उदास’बाट विद्यालयका लागि निरन्तर रूपमा हुँदै आएको सहयोगको साँघुरो कडीको निरन्तरता हो।


Facebook Comment