पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको नेपालमा असर : विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ नामक चक्रवातको आंशिक प्रभाव परेकाले आज पनि देशभर मौसम बदली रहने र विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल पश्चिमी वायु सक्रिय रहेको छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव नेपालमा परेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै भागमा बादल लाग्नेछ । तराईका भू–भागमा सामान्य बदली रहनेछ भने कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ ।
गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना छ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यम मात्राको हिमपात हुन सक्ने भएकाले महाशाखाले त्यस्ता क्षेत्रमा यात्रा गर्ने सर्वसाधारण र किसानलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।


Facebook Comment