चोयाको व्यापारले बजारमा नयाँ रौनक
काठमाडौ । तिहार सकिएसँगै धरानमा यतिबेला छठ पर्वको चहलपहल सुरु भएको छ । बजारमा छठ मनाउनेहरुले बाँसको चोयाबाट बनाइएका डालो, नाङ्लो, डोको, कोनिया, ढाकीलगायतका सामग्री खरिदमा केन्द्रित छन् ।
सुनसरीको रामधुनी नगरपालिका–५ झुम्काका व्यापारी धर्मुकु स्वामीले भने, ‘छठमा बाँसका सामानको बिक्री अत्यधिक हुन्छ । तीन/चार दिनमा तीन लाख रुपैयाँभन्दा बढीको कारोबार हुन्छ ।’ उनले पहाड र भारतका विभिन्न स्थानबाट सामान ल्याई छठमा बिक्री गर्दै आएका छन् । ‘शहरमा चोयाका सामग्री बनाउने कम भइसकेका छन्, भोजपुर, धनकुटालगायतका पहाडी भेग र भारतबाट सामान ल्याएर बिक्री गर्नुपर्ने अवस्था छ’, उनले भने ।
व्यापारी अमृता रौनियाका अनुसार छठ पूजामा बाँसको चोयाबाट बनाइएका सामग्री अनिवार्य जस्तै मानिन्छन् । बाँसको हस्तकला संरक्षणसँगै स्थानीय रोजगारीमा पनि सहयोग पुगेको उनको भनाइ छ । ‘छठ पर्व हामीजस्ता व्यापारीका लागि पनि अवसर हो, बिहानदेखि बेलुकासम्म पसलमा ग्राहकको भीड हुन्छ, मैले भारतबाट सामान ल्याएर झुम्का, इनरुवा, इटहरीलगायतका बजारमा बिक्री गर्छु,’ उनले भनिन् ।
ग्राहक लक्ष्मी खड्काले भने आफू छठका लागि चोयाको सामग्री किन्न बजार आएको बताइन । उनले भनिन्, ‘छठमा विशेषगरी कोनिया र ढाकी चाहिन्छ, त्यसैमा फलफूल राखेर पूजा गर्ने चलन छ।’
छठ पर्वले नेपाली समाजमा केबल धार्मिक आस्था र सूर्य उपासनालाई मात्र बलियो बनाएको छैन । यसले बाँसको परम्परागत पेसा र हस्तकला संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेलेको छ । व्यापारीले पर्वका अवसरमा राम्रो आम्दानी गर्दै आएका छन् भने स्थानीय र बाह्य स्रोतबाट आयातित सामग्रीले उपभोक्ताको विविध माग पूरा गरिरहेको व्यवसायी बताउँछन् ।


Facebook Comment