तिहारको टीकामा मौसम सफा रहने
काठमाडौं । यस वर्षको तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव देखिएको छैन । तर, यही समयमा पश्चिमी वायुको सामान्य प्रभाव रहने भएकाले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार टीकाको अघिल्लो दिन आज (बुधबार) पश्चिमी वायुको प्रभाव कर्णाली र सुदूरपश्चिम प्रदेशमा परेको छ ।
बिभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा समेत हल्का वर्षा वा हिमपात हुने सम्भावना विभागले जनाएको छ ।
आज राति पनि सुदूरपश्चिमसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
टीकाको दिन बिहीबार पनि आजकै जस्तो मौसम रहने सम्भावना रहेको विभागले जनाएको छ । टीकाको समयमा कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नहुने भए पनि पश्चिमी वायुको सामान्य प्रभाव रहने भएकाले पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ ।
कोशी र मधेश प्रदेशलगायत देशका बाँकी भू–भागमा बिहीबार मौसम मुख्यतया सफा रहनेछ भने सबै प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागको तिहार विशेष बुलेटिनमा उल्लेख छ ।
Facebook Comment