के छ परानको ट्रेलरमा ?

काठमाडौं । अभिनेता नीर शाहले आफू अभिनित नयाँ चलचित्र ‘परान’ आफ्नो लागि पाठशाला भएको बताएका छन् । लामो समय अभिनय क्षेत्रमै बिताएका उनले परानले आफूलाई धेरै सिकाएको उद्घोष गरे । दैनिक जीवनबारे पनि फिल्मबाट धेरै बुझेको बताए पनि विगतभन्दा फरक अनुभव के रह्यो भन्ने फेहरिस्ता भने शाहले खुलाएनन् ।

परानको शनिबार ट्रेलर सार्वजनिक कार्यक्रममा शाहले भने, ‘यो फिल्म मेरोलागि पाठशाला नै भयो । मैले परीक्षा दिने क्रममा सदुपयोग गरेको एउटा चलचित्रका रुपमा परानलाई लिएको छु ।’

उनले आफ्नो भूमिका र फिल्ममा पुर्‍याएको योगदानबारे दर्शकले हलमा गएर हेर्नुपर्ने र मूल्यांकन गर्नुपर्ने सुझाउँदै आफ्नो नाम भने धरमनाथ रहेको खुलाए ।

अभिनेतृ अञ्जना बराईलीले पारिवारिक चलचित्रले परिवारभित्र हुने विभिन्न समस्या र त्यसको समाधानका लागि गरेको प्रयासलाई जोडले उठाइएको बताइन । व्यस्तताले परिवारलाई समय नदिँदा निम्तने संकटलाई चलचित्रमार्फत उजागर गर्न खोजिएको उनले सुनाइन ।

त्यसो त उनले आफ्नो व्यक्तिगत जीवनको अन्तरंग पनि कार्यक्रममा सुनाइन । कलाकारिता र जीवनलाई कसरी डोहोर्‍याउँदै हुनुहुन्छ भन्ने प्रश्नमा उनले पहिले केही कठिन भए पनि अब विस्तारै जीवनले लय लिएको बताइन । उनले भनिन्, ‘सुरु सुरुमा आफ्नो व्यस्तता र समय व्यवस्थापन गर्न नस्कदा समय नपुगेर परिवारमा गुनासो हुन्थ्यो । त्यो अहिले सुधार भएको छ । मैले व्यवस्थापनलाई ध्यान दिएको छु । परिवारले मेरो काम बुझ्नु भएको छ । अहिले कर्म नै धर्म हो भन्ने मनोविज्ञानको विकास गर्दै अघि बढेकी छु ।’

शनिबार सार्वजनिक फिल्मको ट्रेलरमा परिवार सदस्य कसरी परान हुन्छ । आपसी माया कसरी साटासाट गर्ने भन्ने सन्देशसहित पारिवारिक सद्भाव, हास्यव्यंग्य र सामाजिक उत्तरदायित्वलाई ट्रेलरमा खुलाइएको छ । तै पनि फिल्मको विषयवस्तुबारे कलाकारले भनेको सन्दर्भ र ट्रेलर आफैँमा रहस्यमय छ । जसले दर्शकलाई हलमा तान्ने विश्वास निर्माण पक्षले लिएका छन् ।

‘सासले होइन साथले चल्ने परान’ भन्ने स्लोगन स्थापित गर्ने दावी गरिएको चलचित्रमा परिवारिक भावनातक सङ्घर्ष, प्रेमकथा र जेन-जी आन्दोलनसँगको मेललाई जोडिएको छ ।

१४ महिना लगाएर तयार पारिएको चलचित्रले दर्शकको मन जित्ने विश्वास गरिएको छ । यो चलचित्र आगामी कार्त्तिक १४ गतेदेखि देशभर प्रदर्शनमा आउने छ । बाइस्कोप सिनेमाले पहिलो प्रोजेक्टका रुपमा परानको निर्माण गरेको हो ।

दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको फिल्म परानमा नीर शाहसँगै महेश त्रिपाठी, अञ्जना बराइली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई तथा बाल कलाकार आर्यादीप आचार्यलगायतको अभिनय छ।

शिवराम श्रेष्ठले खिचेको फिल्ममा मित्र डी गुरुङले सम्पादन गरेका छन् । फिल्मको कोरियोग्राफी भने सुनिल क्षेत्रीले गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *