अपराजित नेपालले जित्यो टी–२० विश्वकप एसिया छनोटको उपाधि
काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटमा अपराजित रहँदै उपाधि हात पारेको छ ।
शुक्रबार भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्ससम्मका सबै खेल जितेर च्याम्पियन बन्न सफल भयो ।
पहिले ब्याटिङ गर्दै नेपालले आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २११ रनको विशाल योगफल बनायो । आसिफले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए भने दीपेन्द्रले २ चौका र ४ छक्कासहित ५३ रनको योगदान दिए । लोकेश बमले अन्त्यतिर ११ बलमा ३९ रनको आतिशी प्रदर्शन गरे । कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे ।
जवाफी ब्याटिङमा सामोआ २० ओभरमा ७ विकेट गुमाएर ८७ रनमा सीमित रह्यो । सामोआका सिन सोलिया ४० रनसहित सर्वाधिक रनकर्ता बने । नेपालका ललित राजवंशीले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले १–१ विकेट हात पारे ।
यससँगै नेपालले ११ वर्षपछि आईसीसीको कुनै प्रतियोगितामा उपाधि जितेको छ । सन् २०१४ मा डिभिजन–४ जितेपछि नेपालले यसअघि २०२३ मा विश्वकप छनोटको फाइनलमा ओमानसँग सुपर ओभरमा हार्दै उपविजेता बनेको थियो ।
छनोट चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो भने सुपर सिक्समा यूएईमाथि १ रन, कतारमाथि ५ रन र ओमानमाथि ३८ रनको जित निकाल्दै अपराजित यात्रा कायम राखेको थियो ।
यो छनोटबाट नेपालसहित यूएई र ओमानले सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकपमा सहभागिता सुनिश्चित गरेका छन् ।
Facebook Comment