संसद पुनर्स्थापनाको विकल्प नरहेको एमाले केन्द्रीय कमिटीको निष्कर्ष

काठमाडौं । नेकपा एमालेले आफ्नो ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीले पेस गरेका थिए। बैठकमा प्रस्तुत प्रतिवेदन सर्वसम्मत सुझावसहित पारित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठकमा एमालेले संसद् पुनर्स्थापनाको विकल्प नभएको निष्कर्ष निकालेको छ। पार्टीले संविधान र लोकतन्त्र पक्षसँग सहकार्य गर्दै संसद् पुनर्स्थापनाको पक्षमा जनपरिचालन गर्ने निर्णय गरेको पनि गौतमले बताए। यस निर्णयका पछाडि सर्वोच्च अदालतमा मुद्दा परिसकेको र एमाले निर्वाचनबाट नभाग्ने नीति रहेको उल्लेख गरिएको छ।

तर, उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले संसद् पुनर्स्थापनाको निर्णयप्रति असहमति जनाएका छन्। उपाध्यक्षद्वयले प्रतिनिधि सभा पुनर्स्थापनाको विषयलाई प्रचारात्मक आन्दोलनको विषय मात्र बनाउनु पर्ने राय राखेका थिए। प्रचार विभाग प्रमुख गौतमले भने, ‘प्रतिनिधि पुनर्स्थापनाको विषयलाई प्रचारात्मक आन्दोलनको विषय मात्रै बनाउनु पर्ने भन्ने युवराज ज्ञवालीको सुझावमा अष्टलक्ष्मी शाक्यले समर्थन गर्नुभयो।’

पार्टीको स्थायी कमिटीले वर्तमान राजनीतिक अवस्था र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संसद् पुनर्स्थापनाको विकल्प नभएको निर्णय गरेको छ। बैठकले अहिलेको मुद्दालाई संविधानको ट्र्याकमा ल्याउने र लोकतन्त्र र गणतन्त्रलाई सुरक्षित राख्ने दृष्टिकोण अपनाउने निष्कर्ष पनि निकाल्यो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *