एमाले बैठक: स्थायी कमिटी र पदाधिकारीको धारणा सुनेपछि अध्यक्ष ओलीले जवाफ दिने
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठकको तेस्रो दिन पनि बैठक ललितपुरको जावलाखेलस्थित भनिमण्डलमा जारी छ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम सकिएको छ।
अध्यक्ष ओलीले बैठकमा आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औं महाधिवेशन आयोजना गर्ने प्रस्ताव गरेका छन्।
बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रममा केही पदाधिकारीहरूले अध्यक्षको राजीनामा मागेको चर्चा भएको थियो। त्यसक्रममा केही सदस्यहरूले “अध्यक्षको राजीनामा माग्नेले पहिले आफैं राजीनामा दिनुपर्छ” भन्ने सुझाव दिएका छन्।
बैठकमा सहभागी केही सदस्यका अनुसार, अध्यक्ष ओलीको नेतृत्वमा पार्टी अगाडि बढाउन आवश्यक सुधार र वैचारिक स्पष्टतामाथि समेत छलफल केन्द्रित रहेको छ।
अहिले बैठकमा स्थायी कमिटी सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ। त्यसपछि पार्टी पदाधिकारीहरूले पनि आफ्ना विचार प्रस्तुत गर्नेछन्।
बैठकको कार्यविधिअनुसार, प्रत्येक स्थायी कमिटी सदस्य र पदाधिकारीलाई तीन मिनेट समय दिइएको छ। तीन मिनेटमा आफ्ना विचार नटुंग्याएमा स्वतः माइक काटिने व्यवस्था गरिएको छ।
पदाधिकारी र स्थायी कमिटी सदस्यहरूको धारणा सुनेपछि अध्यक्ष ओलीले प्रतिवेदनमाथि उठेका प्रश्न र सुझावको एकमुष्ट जवाफ दिने कार्यक्रम रहेको छ। पार्टी स्रोतका अनुसार, ओलीको जवाफपछि आजै बैठक समापन हुने सम्भावना रहेको छ। एमालेको १०औं केन्द्रीय कमिटी बैठक असोज २९ गतेदेखि सुरु भएको हो।
Facebook Comment