एमाले केन्द्रीय समिति बैठक तेस्रो दिन पनि जारी, छलफल लम्बिने संकेत
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय समिति बैठक शुक्रबार पनि जारी छ । ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा बुधबारदेखि सुरू भएको १०औं केन्द्रीय समिति बैठक आज तेस्रो दिनमा प्रवेश गरेको हो ।
बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा क्रमशः आफ्ना धारणा राखिरहेका छन् ।
पहिलो दिन मात्रै ५० जना सदस्यहरूले आफ्नो विचार राखेका थिए भने त्यसयता पनि धारणा प्रस्तुत गर्ने क्रम निरन्तर चलिरहेको छ ।
पार्टीले बैठक शुक्रबारभित्र सक्ने तयारी गरे पनि, अझै धेरै सदस्यहरू बोल्ने क्रम जारी रहेकाले बैठक केही दिन लम्बिन सक्ने संकेत देखिएको छ ।
एक एमाले नेताका अनुसार, ‘अध्यक्ष ओलीको प्रस्तावमा धेरैले गहिरो छलफल गर्न चाहेकाले बैठक केही बढ्न सक्छ, तर अन्तिम निष्कर्ष आजै निकाल्ने प्रयास भइरहेको छ।’
बैठकमा पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण, आगामी चुनावी तयारी र विभिन्न राजनीतिक घटनाक्रमबारे समेत चर्चा भइरहेको छ ।
Facebook Comment