सुशासन कायम गर्न जेन-जीको नाम लिएर सरकारी कर्मचारी थर्काउने अर्जुन शाही ठकुरी नै ठगी धन्दामा !

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई राजीनामा दिन धम्की दिने भिडियो सार्वजनिक भएपछि अर्जुन शाही ठकुरी पुनः विवादमा तानिएका छन्।

शाही केही दिनअघि एक समूह र भिडियो टिमसहित महानिर्देशक अधिकारीको कार्यकक्षमै पुगेका थिए। उनले आर्थिक अनियमितता र उड्डयन क्षेत्रको बेथितिको आरोप लगाउँदै अधिकारीलाई “बरु राजीनामा दिएर जाऊँ” भन्दै आक्रामक शैलीमा प्रस्तुत भएका थिए। सो दृश्य उनले आफ्नै सामाजिक सञ्जालमा शेयर गरेका थिए।

उच्च अधिकारीमाथि धम्की !

ठकुरीले यसअघि पनि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि उस्तै शैलीमा आरोप लगाएका थिए। पछिल्ला महिनामा उनी जेन–जी आन्दोलनका अभियन्ताका रूपमा विभिन्न सरकारी निकायमा पुगेर उच्च अधिकारीमाथि दबाबमूलक व्यवहार गर्दै आएका छन्।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणमा पुगेर आफूलाई “कानुन कार्यान्वयनकर्ता”का रूपमा प्रस्तुत गर्दै आक्रामक व्यवहार गरेको स्रोतहरू बताउँछन्।

बैंकिङ कसुरमा उजुरी र पक्राउ

तर, सुशासनका नाममा सक्रिय ठकुरीको अतीत भने विवादास्पद रहेको खुलेको छ। नेपाल प्रहरीका अनुसार उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी दुई वटा उजुरी दर्ता भएका छन्। तीमध्ये एउटा उजुरी २०८२ वैशाख ३० गते प्रहरी वृत्त महाराजगञ्जमा कृष्ण फुँयालले दर्ता गरेका थिए।

प्रहरीका अनुसार त्यही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखाले २८ वैशाखमा अर्जुन शाहीलाई पक्राउ गरेको थियो। केही समय हिरासतमा रहेपछि उनी छुटेका थिए।

वैदेशिक रोजगार विभागमा पनि उजुरी

शाहीविरुद्ध वैदेशिक रोजगार विभागमा समेत उजुरी दर्ता भएको प्रहरी दस्तावेजमा उल्लेख छ।

प्रहरीले विभागलाई लेखेको पत्रमा भनिएको छ, “उपत्यका अपराध अनुसन्धान शाखा, जावलाखेल, ललितपुर पत्रद्वारा दाखिला भएको वैदेशिक रोजगारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको हुँदा, प्रतिवादी अर्जुनबहादुर शाहीलाई अनुसन्धानका लागि उपस्थित गराउन व्यवस्था गर्न अनुरोध गरिएको छ।”

यो पत्रपछि प्रहरीले शाहीलाई विभागको समन्वयमा पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

जेन–जी आन्दोलनपछि पुनः सक्रियता

हिरासतबाट छुटेपछि शाही पछिल्ला महिनामा पुनः जेन–जी आन्दोलनको नाममा सार्वजनिक रूपमा सक्रिय देखिएका छन्।
उनी अहिले आफूलाई ‘सुशासन अभियन्ता’का रूपमा प्रस्तुत गर्दै सरकारी निकायमा पुगेर आर्थिक अनियमितता र भ्रष्टाचारविरुद्ध बोल्ने गरेका छन्।

तर, प्रहरी स्रोतका अनुसार उनको अतीत र मुद्दाहरूका कारण उनको नैतिक विश्वासयोग्यता र उद्देश्यप्रति प्रश्न उठ्न थालेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *