गाजामा ७० अर्ब डलरको क्षति, पुनर्निर्माणका लागि २० अर्ब आवश्यक
गाजा । इजरायल–हमास युद्धका कारण गाजा क्षेत्रमा करिब ७० अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको अनुमान गरिएको छ। संयुक्त राष्ट्रसंघ (यूएन), युरोपेली संघ (ईयू) र विश्व बैंकले संयुक्त रूपमा गरेको मूल्यांकनमा यो तथ्य सार्वजनिक गरिएको हो।
संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम (युएनडीपी) का प्यालेस्टाइन विशेष प्रतिनिधि याको सिलियर्सका अनुसार गाजाको करिब ८४ प्रतिशत भूभाग क्षतिग्रस्त भएको छ। उनले भने, ‘गाजा सहरजस्ता क्षेत्रमा क्षतिको स्तर ९२ प्रतिशतसम्म पुगेको छ। पुनर्निर्माणका लागि आगामी तीन वर्षमा कम्तीमा २० अर्ब डलर आवश्यक हुनेछ।’
उनका अनुसार अरब मुलुकहरूसँगै युरोपेली देश र अमेरिकाबाट पनि सम्भावित आर्थिक सहयोगका संकेतहरू प्राप्त भएका छन्।
२१ लाख मानिसका लागि मानवीय सहायता
युएनडीपीले आफ्ना साझेदार संस्थाहरूसँग मिलेर २१ लाखभन्दा बढी प्रभावित बासिन्दालाई मानवीय सहायता पुर्याउने अभियान सञ्चालन गरिरहेको छ। सहायतामा स्वच्छ पानी, औषधि आपूर्ति, आपतकालीन रोजगारी, फोहर व्यवस्थापन, आवास पुनःस्थापना र सार्वजनिक स्थलको सुरक्षा समावेश छन्।
हालसम्म करिब ८१ हजार टन भग्नावशेष (३,१०० ट्रक बराबर) हटाइएको छ। यसले राहत वितरण र अस्पताल सेवा सञ्चालनमा सहजता ल्याएको युएनडीपीले जनाएको छ।
युद्धविराम सम्झौता र बन्धक मुक्त
गत सोमबार इजिप्टको शर्म अल–शेख सहरमा इजरायल र हमासबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको थियो।
सम्झौताअनुसार हमासले २० जना इजरायली बन्धकहरूलाई मुक्त गरेको छ भने त्यसको बदलामा इजरायलले जेलमा रहेका प्यालेस्टिनीहरूलाई रिहा गरेको हो।
उक्त सम्झौता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, कतार, इजिप्ट र टर्कीका नेताहरूको पहलमा भएको बताइएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युद्धविराम र बन्धक रिहाइलाई स्वागत गरेका छन्।
राहत अभियान विस्तारको आवश्यकता
युद्धविरामपछि गाजामा विस्तृत मानवीय सहायता अभियान चलाउने प्रयास तीव्र भएको छ। पछिल्ला दिनमा मात्र करिब तीन लाख प्यालेस्टिनीहरू गाजा सहर फर्किएका छन्।
इजरायल प्रशासनले हालसम्म १ लाख ९० हजार टन राहत सामग्री प्रवेशमा अनुमति दिएको छ। ती सामग्री संयुक्त राष्ट्रका निकायहरूले वितरण गरिरहेका छन्। तर, अझ ठूलो मात्रामा आपूर्तिको आवश्यकता रहेको मानवीय संस्थाहरूले बताएका छन्।
युनिसेफका प्रवक्ता रिकार्डो पिरेसले भने, ‘अन्तर्राष्ट्रिय समुदायमा अब पीडाको अन्त्य सुरु हुने आशा थियो, तर व्यवहारमा अझै पर्याप्त सुधार देखिएको छैन।’
Facebook Comment