दुई वर्षअघि नै विपिन जोशीको हत्या भएको पुष्टि

काठमाडौं । हमासले बन्धक बनाएर लगिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्षअघि नै हत्या भएको पुष्टि भएको छ।

इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टका आधारमा विपिनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावास स्रोतले अनलाइनखबरलाई जनाएको छ।

‘हमासले हस्तान्तरण गरेको शव विपिन जोशीकै भएको डीएनए परीक्षणबाट पुष्टि भयो। उनको प्राकृतिक मृत्यु नभई हत्या नै भएको रिपोर्ट पाएका छौं,’ दूतावास स्रोतले भन्यो।

विपिनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)को पहलमा इजरायली सैनिक अस्पतालमा लगेर डीएनए परीक्षण गरिएको थियो।

यसबारे इजरायलस्थित नेपाली दूतावासले अहिलेसम्म औपचारिक रूपमा जानकारी दिएको छैन। परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि आधिकारिक सूचना प्राप्त नभएको बताएका छन्।

स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीलाई डीएनए परीक्षणको प्रतिवेदनबारे जानकारी गराइसकेपछि त्यसको औपचारिक सार्वजनिक तयारी भइरहेको छ।

कञ्चनपुरका विपिन जोशी अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए। सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी बन्धक बनाइएका थिए।

सो आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। त्यसयता विपिनको अवस्था अज्ञात रहँदै आएको थियो।

इजरायल र हमासबीचको युद्धविरामपछि मंगलबार बिहान इजरायली सेनाले विपिनको मृत्यु भएको औपचारिक जानकारी दिएको थियो। बन्दीहरू मुक्त गर्ने क्रममा हमासले मंगलबार नै उनको शव हस्तान्तरण गरेको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *