२५ करोडसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा कारागारबाट फरार

काठमाडौं । टोखाबाट २५ करोड रुपैयाँसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा कारागारबाट फरार भएका छन्।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का फुच्चे भनिने लामा सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) मा थुनामा रहेका बेला २४ भदौको राति फरार भएको खुलेको हो।

कारागार व्यवस्थापन विभागले आइतबार सार्वजनिक गरेको फरार कैदीहरूको सूचीमा लामाको नाम पनि समावेश छ। फरार भएको एक महिना बितिसक्दा पनि उनी पक्राउ परेका छैनन्।

लामालाई प्रहरीले ४ चैत २०८१ मा टोखाबाट ना ७ ख १६५२ नम्बरको ट्रकसहित पक्राउ गरेको थियो। उक्त ट्रकबाट १३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० अमेरिकी डलर (तत्कालीन विनिमय दरअनुसार करिब २५ करोड १९ लाख रुपैयाँ) बरामद भएको थियो।

प्रहरीले उनलाई रकम र ट्रकसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवनमा पठाएको थियो। अनुसन्धानका क्रममा उक्त रकम सिन्धुपाल्चोकका नारायण पौडेलको भएको खुल्न आएको थियो।

पौडेल र लामाविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अन्तर्गत मुद्दा दायर गरिएको थियो। लामा पुर्पक्षका लागि कारागार चलान भएका थिए भने पौडेल अदालतमा उपस्थित भई ३५ लाख धरौटीमा रिहा भएका थिए।

यसअघि पनि लामा २०७३ पुस १३ मा ७ किलो सुनसहित पक्राउ परेका थिए र सो मुद्दामा ५ वर्ष जेल सजाय भोगेपछि २०७८ मा रिहा भएका थिए।

लामाजस्तै करिब साढे पाँच हजार कैदीबन्दी देशभर विभिन्न समयमा फरार रहेका कारागार व्यवस्थापन विभागले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *