रौतहटमा पानीमा डुबेर तीन बालिकाको मृत्यु
रौतहट । रौतहटको गौर नगरपालिकामा बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।
गौर नगरपालिका–१ को सीमा क्षेत्र नजिक घाँस लिन गएका बेला राजदेवी नगरपालिका–८ की १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार सात जनाको समूहमा घाँस लिन गौरतर्फ गएका ती बालिकाहरू बाढीको पानीमा बगिएका थिए। स्थानीय बासिन्दाले तत्काल उद्धारकार्य सुरु गर्दा चार जनालाई जिवितै बचाइएको थियो भने तीन जनाको शव फेला पारिएको हो।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजतलास जारी राख्दा तीनै बालिकाको शव बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
मृत बालिकाहरूको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ।
Facebook Comment