बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी जीवित छैनन्: इजरायली सेना

काठमाडौं । इजरायलमा हमासद्वारा नियन्त्रणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली सेनाले पुष्टि गरेको छ।

इजरायली सेनाका (आईडीएफ) एक अधिकारीले स्थानीय समय अनुसार शुक्रबार बिहान साढे ७ बजे विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी दिएका हुन्।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार उक्त जानकारी भिडियो कन्फरेन्समार्फत दिइएको हो। सो क्रममा अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर जोशी, इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी तथा राजदूत पण्डित सहभागी थिए।

राजदूत पण्डितले भने, “आईडीएफका अधिकारीले हामीलाई स्पष्ट रूपमा भने — विपिन इज नो मोर।”

अमेरिकाको पहलमा इजरायल र हमासबीच युद्धविरामको सहमति भएपछि आज केही जीवित र मृतक बन्दीहरू रिहा गर्ने कार्यक्रम तय गरिएको थियो। तर, त्यस सूचीमा विपिनको नाम नरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

कञ्चनपुरका विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए। उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो।

पछिल्लो पटक सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजास्थित अल शिफा अस्पतालमा देखिएका थिए, तर त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी थिएन।

विपिनको खोजीका लागि नेपाली सरकारको पहलमा उनकी आमा र बहिनी इजरायल पुगेका थिए। पछिल्लो समय उनीहरू अमेरिका गएका छन्। कूटनीतिक प्रयास जारी भए पनि विपिनको अवस्थाबारे स्पष्टता आउन नसकेको अवस्थामा अहिले इजरायली सेनाले उनको निधन पुष्टि गरेको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *