परराष्ट्रमन्त्री प्रस्ताव आयो भन्ने प्रश्नमा हमाल भन्छन्: नेपाली नागरिकको हैसियतले देशको सेवा गर्छु

काठमाडौं । महानायक राजेश हमालले नेपाली नागरिकको हैसियतले देशको सेवा गर्ने बताएका छन् । उनले आफू कुनै पद विशेषभन्दा पनि नेपालको नागरिकको हैसियतमा नेपाल र नेपालीको सेवा गर्ने बताए ।

शनिबार आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’ को लोकार्पण समारोहपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कुनै पदभन्दा माथि आफ्नो देश भएको धारणा राखे ।

सञ्चारकर्मीले ‘परराष्ट्रमन्त्रीको रूपमा महानायक राजेश हमालको चर्चा भइरहेको छ, प्रस्ताव आएको छ कि छैन ?’ भनेर सोधेको प्रश्नमा हमालले पदभन्दा माथि उठेर देश सेवामा लाग्नुपर्नेमा जोड दिए।

उनले भने, ‘हामी सबैले यो पद, त्यो पद भन्दा पनि एक नेपाली नागरिक भएर देशलाई सेवा र टेवा दिन जरुरी छ ।’

उनले आफूलाई कुनै पदको प्रस्ताव आएको वा नआएको विषयमा स्पष्ट जवाफ नदिई सबैभन्दा पहिला नागरिकको कर्तव्य महत्वपूर्ण हुने बताए।

पुस्तक विमोचन कार्यक्रममा उनले आफ्नो जीवनका विभिन्न पक्ष, विचार र दृष्टिकोणहरू समेटिएको बताए।

उनले आफ्नो जीवनी लेख्न साढे तीन वर्ष लागेको र यसमा आफ्नो बाल्यकाल, परिवार, पेशा र सामाजिक परिवेशका साथै आफ्ना विचारहरू पनि समेटिएको जानकारी दिए।

व्यक्तिगत कुराहरूलाई पुस्तकमा उतार्न सुरुमा केही संकोच भए पनि पछि खुलेर आफ्ना भावनाहरू पोखेको बताउँदै आफ्नो जीवन र भोगाइ पनि पुस्तकमा उतारेको बताए ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *