बीपी राजमार्गमा ट्याक खोल्ने काम जारी, आज साँझदेखि सञ्चालनमा ल्याइने

काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध बनेको बीपी राजमार्ग आज (शुक्रबार) साँझदेखि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो र रणनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण बीपी राजमार्ग असोज १७ र १८ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोले क्षतिग्रस्त बनेको थियो ।

सडक डिभिजन भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशका अनुसार विभिन्न स्थानमा डाइभर्सन निर्माण र मर्मतको काम अन्तिम चरणमा पुगेको छ । “काम अन्तिम चरणमा पुगेको छ, आज साँझसम्म यातायात सञ्चालन गर्ने तयारी छ,” उनले बताए ।

भौतिक पूर्वाधार, शहरी विकास तथा ऊर्जा मन्त्री कुलमान घिसिङले विहीबार सडक डाइभर्सन निर्माण स्थलको अवलोकन गर्दै शुक्रबार साँझसम्म यातायात सञ्चालन हुने अवस्था बनाउन निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि गएरातिसम्म निर्माण व्यवसायी र प्राविधिकहरू निरन्तर रूपमा काममा खटिएका थिए ।

सडक विभागका अनुसार हालैको बाढीले राजमार्गका १६ स्थानमा क्षति पुर्‍याउँदै करिब ३.५ किलोमिटर डाइभर्सन बगाएको थियो । त्यस्तै, गत वर्षको बाढीपछि निर्माण गरिएको ५.३ किलोमिटर डाइभर्सन पनि पूर्ण रूपमा नष्ट भएको थियो ।

जापान सरकारको २६ अर्ब जापानी येन र नेपाल सरकारको १.१ अर्ब लागतमा निर्माण गरिएको बीपी राजमार्ग विसं २०७२ असार १८ गते सम्पन्न भएको थियो । यसको निर्माण कार्य आर्थिक वर्ष २०५३/५४ मा सुरु गरिएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *