अगस्टमा ८८ हजारभन्दा बढी पर्यटक नेपाल प्रवेश, भारतबाट मात्रै ४० प्रतिशत

काठमाडौं । सन् २०२५ को अगस्ट महिनामा कुल ८८ हजार ६८० जना विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन्। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले वृद्धि भएको हो।

बोर्डका अनुसार, भारतबाट मात्र ३५ हजार ५०५ पर्यटक आएका छन्, जुन कुल आगमनको ४० प्रतिशत हो। यसपछिका उच्च पर्यटक संख्या भएका मुलुकहरूमध्ये चीनबाट ७ हजार ५३३ (८.५%), अमेरिकाबाट ६ हजार ६८ (६.८%), श्रीलङ्काबाट ५ हजार ९५६ (६.७%) र बङ्गलादेशबाट ४ हजार २६२ (४.८%) पर्यटक नेपाल आएका छन्।

८ महिनामा ७ लाख ३६ हजारभन्दा बढी पर्यटक आगमन

सन् २०२५ को जनवरीदेखि अगस्टसम्मको आठ महिनाको अवधिमा ७ लाख ३६ हजार ५६२ पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ।

क्षेत्रगत रूपमा हेर्दा:

दक्षिण एशिया (सार्क) मुलुकहरूबाट: ४७ हजार १३७ (५३%)

एसियाका अन्य मुलुकहरूबाट: १५ हजार ७७७ (१७.८%)

युरोपबाट: ११ हजार १३२ (१२.६%)

ओसनियाबाट: २ हजार ४३५ (२.७%)

अमेरिकाबाट: ७ हजार २९३ (८.२%)

मध्यपूर्वबाट: ९४४ (१.१%)

अफ्रिकाबाट: ३२२ (०.४%)

अन्य मुलुकहरूबाट: ३ हजार ६४० (४.१%)

यसअघि, सन् २०२५ को जुलाई महिनामा ७० हजार १९३ पर्यटक नेपाल आएका थिए।

पर्यटन पुनरुत्थानको संकेत : बोर्ड

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले कोरोना महामारीले थला पारेको पर्यटन क्षेत्र अहिले बिस्तारै पुनरुत्थानको दिशामा अगाडि बढिरहेको बताए।

उनले भने, “भारतबाट एयर इन्डिया एक्सप्रेसको उडान थपिएपछि भारतबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि देखिएको छ। आगामी दिनमा पर्यटक आगमन अझै बढ्ने विश्वास लिएका छौं।”

हालको तथ्याङ्कले नेपालका लागि पर्यटन क्षेत्र फेरि उकासिँदै गएको स्पष्ट देखिन्छ। लगातारको सुधारले पर्यटन क्षेत्रले आर्थिक पुनरुत्थानमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *