अविरल वर्षाले १० राजमार्ग पूर्ण अवरुद्ध, १५८ राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं । देशभर जारी अविरल वर्षा र त्यसबाट निम्तिएको बाढी तथा पहिरोका कारण १० वटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने थप १५८ वटा राजमार्ग एकतर्फी मात्र सञ्चालनमा रहेका छन्।

सडक विभागका अनुसार लगातारको वर्षाले विभिन्न स्थानमा सडक कटान, पहिरो खस्ने तथा नदीको बहाव बढ्नेजस्ता कारणले यातायात अवरुद्ध भएको हो। यसले सर्वसाधारणको आवतजावतमा गम्भीर असर पारेको विभागले जनाएको छ।

अवरुद्ध सडक तत्काल खोल्न कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आइतबार मन्त्रालयस्तरीय बैठकमा सबै अवरुद्ध सडकहरू यथासक्य छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। उनले सडक बन्द हुँदा नागरिकको दैनन्दिन जीवन प्रभावित भएको भन्दै ढिलाइ नगरी तत्काल उद्धार र मर्मत कार्य अघि बढाउन सम्बन्धित निकायलाई आदेश दिएका हुन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले पनि अवरुद्ध सडकहरू खोल्न युद्धस्तरमा काम भइरहेको जानकारी दिए। उनका अनुसार केही क्षेत्रमा लगातार वर्षा भइरहेकाले सफाइ र मर्मतकार्यमा कठिनाइ भइरहेको छ।

यी हुन् पूर्ण अवरुद्ध रहेका प्रमुख सडकहरू :

. ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड

चीनतर्फबाट आएको बाढीले सडक कटान गरेपछि यो सडक पूर्णरूपमा अवरुद्ध भएको हो। एक्साभेटर र लोडर प्रयोग गरेर बाटो खुलाउने प्रयास जारी छ।

२. जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग)

पैमा खोलाको उच्च बहावका कारण सडक बन्द छ। पानी घटेपछि मात्र सडक सफा गरिने विभागको भनाइ छ।

३. रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले–तुम्लिङटार–नुम–किमाथाङ्का (कोशी राजमार्ग)

बरुण नदीमा डाइभर्सन बगाउँदा र पुल निर्माणको ढलान बाँकी हुँदा सडक सञ्चालनमा आउन सकेको छैन।

४. चतरा–मूलघाट–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर)

साउन ६ गतेको अविरल वर्षाले रेमिट हाइड्रोद्वारा निर्मित बेलीब्रिज बगाएपछि यो सडक अवरुद्ध छ।

५. छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम (भेरी करिडोर)

खोलाबाट आएको बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको हो। पहिरो हटाउने काम जारी छ।

६. कोइलाबास–लमही–अर्जुनखोला–घोराही–होलेरी–थवाङ–लुकुम (शहीद मार्ग)

लगातारको वर्षा र पहिरोका कारण बाटो पूर्ण रूपमा बन्द छ। मौसम सामान्य भएपछि सफाइ थालिनेछ।

७. सुर्खेत–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक

सडक माथिबाट खसेका ठूला ढुंगाले बाटो अवरुद्ध बनाएको छ। ढुंगा हटाउने प्रयास जारी भए पनि झर्ने क्रम नरोकिएको विभागले जनाएको छ।

१५८ राजमार्ग आंशिक रूपमा मात्र सञ्चालनमा

सडक विभागका अनुसार देशभरका १५८ वटा राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा छन्। वर्षा नरोकिएसम्म पूर्णरूपमा खुलाउन कठिन हुने जनाइएको छ।

यातायात सञ्चालनमा थप कठिनाइ, नागरिकलाई सावधानी अपनाउन आग्रह

विभागले यात्रा गर्नु अघि सम्बन्धित स्थानको सडक अवस्थाबारे जानकारी लिएर मात्र गन्तव्यतर्फ जान सर्वसाधारणलाई सुझाव दिएको छ। साथै स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यक सेवा तथा सुरक्षा व्यवस्थापन मिलाउन समेत भनिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *