नीतिमा आधारित जनमत ध्रुवीकरणबिना स्थिरता सम्भव छैन : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नीतिमा आधारित जनमत ध्रुवीकरण हुन नसक्दा मुलुकमा राजनीतिक अस्थिरता चिर्न नसकिएको बताएका छन्।

सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेता आनन्द पोखरेलद्वारा लिखित ‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ पुस्तक विमोचन गर्दै महासचिव पोखरेलले नीति र विचारको स्पष्टता बिना जनताको समर्थन सुनिश्चित हुन नसक्ने बताउँदै यसले निर्णायक शक्ति निर्माणमा अवरोध पुर्‍याएको उल्लेख गरे।

“लोकप्रिय मत ३४–३५ प्रतिशतमा सीमित हुँदा निर्णयकारी शक्ति बन्न सकिन्न,” उनले भने, “त्यसैले हामीले अब संगठनलाई आधारभूत तहसम्म सुदृढ गर्दै नीति निर्माणमा अग्रसर हुनुपर्छ।”

महासचिव पोखरेलले एमालेको नीति केवल पार्टीको मात्रै नभई राष्ट्रकै नीति बन्न सक्नुपर्नेमा जोड दिए। त्यही शक्ति हासिल गर्न सक्दा मात्रै पार्टीले निर्णायक भूमिका निर्वाह गर्नसक्ने उनको धारणा छ।

उनले राजनीतिक प्रणालीमा स्थायित्व ल्याउन अब एकल बहुमत प्राप्त गर्ने गरी तयारी थाल्नुपर्ने आवश्यकता औंल्याए। “सरकार बनाउँदा भिन्न विचार भएका दलहरूसँग सहकार्य गर्नुपर्ने बाध्यता छ,” पोखरेलले भने, “तर अब त्यो बाध्यता अन्त्य गर्न सक्ने तयारीमा लाग्नुपर्छ।”

कार्यक्रममा पोखरेलले पार्टी विधान महाधिवेशनपछि एमाले अझ व्यवस्थित हुने दाबी गर्दै वैधानिक प्रक्रिया र संरचनालाई थप परिष्कृत गर्दै लैजाने उद्घोष समेत गरे।

त्यस्तै, उनले कम्युनिस्ट आन्दोलनभित्रको वर्गसंघर्ष अब आवधिक निर्वाचनमै केन्द्रित हुनुपर्नेमा जोड दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *