धरानका मेयर राजधानीमा नायकझैँ, साम्पाङको स्वागतमा उर्लियो भीड

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। उनलाई स्वागत गर्न राजधानी पुगेका सयौं समर्थकहरूले मोटरसाइकल र्‍यालीसहित भव्य स्वागत गरेका हुन्।

विमानस्थलबाट सुरू भएको मोटरसाइकल र्‍यालीले काठमाडौंका विभिन्न भाग परिक्रमा गरेको थियो। समर्थकहरूले ‘हर्क साम्पाङ जिन्दाबाद’ नारासहित वातावरण उत्साहपूर्ण बनाएका थिए।

स्वागतप्रति प्रतिक्रिया दिँदै मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत सबैलाई धन्यवाद दिएका छन्। उनले लेखेका छन्,
“कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ जिन्दाबाद’ को नारा घन्किनेछ भन्ने मैले कल्पनासमेत गरेको थिइनँ। सायद यो मेरो देशप्रेम र जनताप्रतिको निष्ठाको फल हुन सक्छ। सबैलाई मनदेखि धन्यवाद!”

साम्पाङ प्रायः काठमाडौं आउँदा पानी, जनस्वास्थ्य वा जनहितका विविध मुद्दा उठाउँदै माइतीघर मण्डलाजस्ता स्थानमा एक्लै प्लेकार्डसहित उभिएको देखिन्छन्। कहिले गाग्रो बोकेर धरानको पानी संकटप्रति आवाज उठाउँछन् भने कहिले सडकमा जनताको पक्षमा बोल्ने एक्ला प्रतिनिधिका रूपमा देखिन्छन्।

उनको सचिवालयका अनुसार, मेयर साम्पाङ यसपटक काठमाडौं आएका बेला आफ्ना समर्थकहरूसँग प्रत्यक्ष भेटघाटको पनि इच्छा राखिरहेका छन्।

राजनीतिक शैलीमा फरक पहिचान बनाएका साम्पाङ सामाजिक रूपमा क्रियाशील मात्र नभई जनअपेक्षासँग जोडिएर प्रत्यक्ष रूपमा सडकमा उत्रिने नेताको रूपमा चिनिन्छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *