कञ्चनपुर डुबान संकट : बाढी गाउँ पसेपछि विद्यालयमा बन्यो आश्रयस्थल
काठमाडौं । अविरल वर्षाले कञ्चनपुरमा जनजीवन अस्तव्यस्त बनेको छ। आइतबार रातिदेखि परेको भारी वर्षाका कारण आएको बाढीले भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका बस्तीहरूमा डुबान पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता एवं डिएसपी सागर बोहराका अनुसार दोधारा चाँदनी–८ अन्तर्गत रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेका छन्। त्यसैगरी, दोधारा चाँदनी–३ को पटराखल्ला क्षेत्रका १५ घर पनि डुबानमा परेका छन्।
“जोगबुढा नदी बस्तीमा पस्दा ७० जना विस्थापित भएका छन्,” डिएसपी बोहराले जानकारी दिए, “उनीहरूलाई तत्कालै नजिकैको विद्यालयमा सुरक्षित स्थानमा राखिएको छ।”
पटराखल्ला क्षेत्रका ५५ जना, उनीहरूको सरसामान र चौपायासमेत नजिकैको जमुना आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
महाकाली नदीमा जलस्तर उच्च, शारदा ब्यारेजमा सवारी आवागमन बन्द
अविरल वर्षाले महाकाली नदीको जलस्तर पनि तीव्र रूपमा बढेको छ। डिएसपी बोहराका अनुसार नदीमा पानीको बहाव एक लाख ४० हजार २५० क्युसेक प्रतिसेकेन्ड पुगेको छ।
भारतको सीमा क्षेत्रअन्तर्गत पर्ने शारदा ब्यारेजमा जलस्तर खतराको सीमाभन्दा माथि पुगेपछि भारतीय पक्षले सावधानीस्वरूप चार र तीनपांग्रे सवारीसाधनको आवागमनमा रोक लगाएको छ।
एक लाख क्युसेक प्रतिसेकेन्डको बहाव नाघेपछि भारतीय पक्ष सधैंजसो यातायात रोक्ने गरेको बताइएको छ।
स्थिति नियन्त्रणमा ल्याउन नेपाली सुरक्षा निकाय, स्थानीय तह र उद्धारकर्मीहरू सक्रिय रहेको जनाइएको छ। डुबान प्रभावित क्षेत्रका बासिन्दालाई थप राहत र व्यवस्थापनका लागि तयारी भइरहेका छन्।
Facebook Comment