ग्रीसकी स्टार खेलाडी इभान्जेलिया चान्टाभा एभरेस्ट महिला भलिबल लिग खेल्न नेपालमा

काठमाडौं । ग्रीसकी राष्ट्रिय महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा ‘एभरेस्ट महिला भलिबल लिग २०८२’ खेल्न नेपाल आएकी छन्। उनी कर्णाली यशभिस क्लबबाट लिगमा प्रतिस्पर्धा गर्नेछिन्।

आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने प्रतियोगिता नेपालको सबैभन्दा प्रतिष्ठित महिला भलिबल लिगमध्ये एक हो। यस लिगका लागि चान्टाभा कर्णाली यशभिसले विशेष रूपमा अनुबन्धित गरेकी हुन्।

सानैदेखि भलिबलमा रुचि राखेकी चान्टाभाले सन् २००५ बाट आफ्नो व्यवसायिक खेल यात्रा सुरु गरेकी थिइन्। उनी ग्रीसका साथै इटली, टर्की, थाइल्याण्ड, रोमानिया, ब्राजिल, इण्डोनेसिया र जापानका विभिन्न प्रतिष्ठित क्लबहरूबाट खेलिसकेकी अनुभवी खेलाडी हुन्। आउटसाइड हिटरका रूपमा चिनिने उनी दर्जनौँ पटक टिमसँगै उपाधि जितिसकेकी छन् भने व्यक्तिगत रूपमा पनि थुप्रै अवार्ड हात पारिसकेकी छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै चान्टाभाले नेपालमा पहिलो पटक खेल्न पाएकोमा उत्साहित भएको बताइन्। “नेपालको संस्कृति, वातावरण र यहाँका समर्थकसँगको अनुभव पक्कै रोचक हुनेछ,” उनले भनिन्। साथै, उनले आफ्नो टिम कर्णाली यशभिसलाई दोस्रो पटक लिग च्याम्पियन बनाउने लक्ष्यसहित खेल्ने प्रतिबद्धता जनाइन्।

कर्णाली यशभिसले यसपटक विदेशी खेलाडीहरूमा बलियो टिम बनाउँदै ब्राजिलियन खेलाडी आना फ्लाभिया र मायरा भिटोरियालाई समेत अनुबन्ध गरेको छ। दुवै खेलाडी सोमबार साँझसम्म नेपाल आइपुग्ने कार्यक्रम रहेको क्लबले जनाएको छ।

यस वर्ष पनि कर्णाली यशभिसले प्रशिक्षक कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिएको छ। क्लबले लिगको अन्तिम तयारी तीव्र रूपमा अगाडि बढाइरहेको जनाएको छ। क्लबले चर्चित अभिनेता राजेश हमाललाई ब्रान्ड एम्बासडरको रूपमा निरन्तरता दिएको छ, जसले टिमको लोकप्रियता थप बढाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *