“धागो चुँडिएको चङ्गाजस्तै बनेका छौँ : उप-महासचिव ज्ञवालीको चेतावनी”

काठमाडौं । नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवालीले पार्टीभित्र जनतासँगको सम्बन्ध कमजोर बन्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

शुक्रवार काठमाडौंमा आयोजित ‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पार्टीका केही शीर्ष नेताहरू जनस्तरसँगको सम्बन्धविच्छेद भएको भन्दै आलोचना गरे।

“आज हामी धेरै हदसम्म जनताबाट टाढिएका छौँ। कतिपय नेताहरू त धागो चुँडिएको चङ्गाजस्तै भएका छन्,” उनले तीव्र कटाक्ष गरे।

ज्ञवालीले पार्टीले ‘मै जिताउँछु, मेरो वडा’ भन्ने नारा दिए पनि वास्तविकता त्यो अनुसार नभएको बताए। “केही पदाधिकारी र केन्द्रीय सदस्यहरूले ठूला–ठूला कुरा त गर्छन्, तर आफ्नै वडामा पनि चुनाव जिताउन सक्दैनन्,” उनले भने, “यसले के देखाउँछ भने जनतासँगको सम्बन्ध बलियो बनाउनु आजको प्रमुख आवश्यकता हो।”

उनले पार्टीभित्र वैचारिक र सांगठनिक अन्योल बढिरहेको उल्लेख गर्दै, त्यो समस्यालाई चिर्दै आधारभूत जनसंगठनलाई पुनः मजबुत बनाउनु पर्नेमा जोड दिए।

ज्ञवालीले जनतासँगको जीवन्त सम्बन्ध कायम राख्न नसकेमा कुनै पनि पार्टी कमजोर हुने चेतावनीसमेत दिए।

“कम्युनिस्ट आन्दोलनको मूल आत्मा भनेकै जनताको बीचमा रहनु हो,” उनले स्पष्ट पार्दै भने, “त्यस आत्मालाई पुनः जीवन्त बनाउन अब ढिला गर्नु हुँदैन।”




Leave a Reply

Your email address will not be published. Required fields are marked *