२३४ रुग्ण ठेक्का तोडिने : मन्त्री घिसिङको चेतावनी– ‘लापरबाह कर्मचारीमाथि पनि छानबिन हुन्छ’
काठमाडौं । लामो समयदेखि काम नगरी अलपत्र परेका २३४ वटा सडक तथा पुल निर्माणका रुग्ण ठेक्का तोडिने भएका छन्। संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गतका विभिन्न सडक डिभिजन, हुलाकी राजमार्ग तथा मध्यपहाडी लोकमार्गमा रहेका अलपत्र परियोजनाहरूमा यो कदम चालिने भएको हो।
प्राप्त विवरणअनुसार दमक कार्यालयमा ३८, काठमाडौंमा ७५, पोखरामा ३९, सुर्खेतमा ४९, हुलाकी राजमार्गमा १६ र मध्यपहाडी लोकमार्गमा १७ ठेक्का रुग्ण अवस्थामा रहेका छन्।
आयोजना तर्फ काम नगरेर ठेक्का अलपत्र पार्न संलग्न तत्कालीन तथा हालका जिम्मेवार कर्मचारीमाथि समेत छानबिन समिति गठन गर्ने तयारी भएको छ।
शनिबार मन्त्रालयस्तरीय समीक्षा बैठकमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का व्यवस्थापनमा देखिएको कमजोरीप्रति आक्रोश व्यक्त गरे। उनले भने,‘सडक निर्माणका लागि राज्यले हरेक वर्ष अर्बौँ रुपैयाँ खर्च गर्छ, तर नागरिकले लाभ लिन पाएका छैनन्। ठेक्का व्यवस्थापन शून्य जस्तो छ। धेरै ठेक्का कर्मचारीको ढिलासुस्तीका कारण रुग्ण बनेका छन्। अब त्यस्ता कर्मचारीमाथि पनि छानबिन हुन्छ।’
Facebook Comment